ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता विनोद पौडेलको ‘अभिमन्यु’ मा गौमाया गुरुङ अनुबन्धित

0 Shares

सिनेसुत्र, बिराटनगर-  सिनेमा ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ। निर्माणपक्षले सिनेमाका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ।

‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन्। निर्माणपक्षले गुरुङ आफ्नो सिनेमामा अनुबन्ध भएको जानकारी दिएको छ।

“हाम्रो सिनेमाका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ। पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ,” निर्माता विनोद पौडेलले भने, “अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौँ।”उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए।  सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन्। उनले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेका छन्। ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ।

सिनेमाको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ। यो सिनेमा विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ। सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशकीय सिनेमा हो।

मुकेश खनालको लेखन रहेको सिनेमाको क्रियटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि सिनेमा ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए। यो सिनेमामा शरद महतोको डिओपी रहने छ। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्।

सम्बन्धित समाचारसबै