बक्स अफिसमा ‘अञ्जिला’ को बलियो पकड: १३ दिनमै ८ करोड ७० लाखको कमाइ

0 Shares

सिनेसुत्र, बिराटनगर- घरेलु बक्स अफिसमा सुपर हिट भएको सिनेमा ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सिनेमा का वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साताको मङ्गलवारसम्म देशभरका हलहरूबाट प्राप्त रिपोर्टका आधारमा निर्मातालाई दिइएको हो ।

सिनेमा का निर्माता प्रेमकुमार श्रेष्ठका अनुसार, सिनेमा को दोस्रो सातासम्मको प्रदर्शन पनि अघिल्लो हप्ताअनुसार अपेक्षाकृत रहेको छ । उनले भने, “हामीले सोचेजस्तै सिनेमा ले राम्रो व्यापार गरिरहेको छ । दर्शकको माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ । अझै केही सातासम्म राम्रो व्यापार गर्ने अपेक्षा गरेका छौँ ।”

निर्देशक मिलन चाम्सले ‘अञ्जिला’को सफलताप्रति खुसी व्यक्त गरे । “नेपाली दर्शकले राम्रो सिनेमा रुचाउने प्रवृत्ति फेरि प्रमाणित भएको छ । कथा, प्रस्तुतीकरण, र कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकलाई हलसम्म ल्याएको छ । आगामी दिनमा अझ राम्रो प्रदर्शन हुने आशा छ,” चाम्सले भने । ‘अञ्जिला’ विश्वभरका १६ देशमा प्रदर्शनमा आउँदै छ । नेपालको प्रतिक्रिया हेरी ओभरसिज वितरकहरूले सिनेमा को माग गरेको निर्देशकले बताए ।यो सिनेमा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । सिनेमा मा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

बिहीबारदेखि तेस्रो हप्ता प्रवेश गर्ने यो सिनेमा लाई दर्शकले मन पराइरहेका छन् र बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै