सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अलबिदा’बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका नायक हसनराजा खान अभिनित सिनेमा ‘वन अफ दि मिलियन्स’को छायांकन अमेरिकामा सकिएको छ। ११ दिन लगाएर सिनेमाको छायांकन गरिएको नायक खानले जानकारी दिएका छन्।
यो सिनेमालाई विशाल सापकोटाले निर्देशन गरेका हुन्। एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथालाई यो सिनेमाले भन्छ। अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथामा यो सिनेमा बनेको निर्माणपक्षले बताएको छ। यो सिनेमामा हसनको साथमा कलाकार सुवास थापाको पनि मुख्य भूमिका छ। रामेश्वर कार्कीले खिचेको सिनेमाले दर्शकको मन जित्ने विश्वास गरिएको छ।
यो सिनेमामा हसन र सुवासको साथमा अन्य २० जना अमेरिकामा नै रहेका कलाकारहरूले अभिनय गरेका छन्। सन् २००९ मा काठमाडौंमा आयोजित ‘मिस्टर क्यापिटल’ जितेका हसनले ‘अलबिदा’पछि ‘रोमियो’ नामक सिनेमामा अभिनय गरेका थिए। यो सिनेमाबाट पनि आफूलाई दर्शकहरूले अझै बढी साथ दिने हसनको विश्वास छ।
हसनले सन् २०१५ मा कतारको राजधानी दोहामा आयोजित ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट नव–नायकको अवार्ड जितेका थिए भने उनी न्यूयोर्कमा आयोजित ‘ग्लोबल सिनेमा अवार्ड’मा पनि सहभागी हुँदै सिनेमा ‘डिपार्चर’ निर्माणको घोषणा गरेका थिए। सिनेमा ‘वन अफ दि मिलियन्स’लाई विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा रिलिज गरिने र त्यसपछि नेपालमा रिलिज गरिने बताइएको छ।
