सिनेसुत्र, बिराटनगर- नायक राजेश हमालले स्वर भरेसँगै सिनेमा ‘नरसिंहाः अवतार’ को डबिङ सकिएको छ। सिनेमाका निर्देशक दिवाकर भट्टराइले अन्य सबै कलाकारहरूको पनि डबिङ सम्पन्न भएको जानकारी दिएका छन्। अब केही दिनमै सिनेमा तयार हुने उनले बताए।
डबिङमा राजेश हमालले बोले– ‘के तपाईं मलाई वेवकुफ सम्झिनुहुन्छ या साच्चिकै पागल?’ डबिङ सकिएपछि हमाल सिनेमा लिएर निकै नै आशावादी र उत्साहित देखिए। ‘दर्शकले मलाई यसपटक फरक अवतारमा देख्नुहुनेछ, यो सिनेमा दर्शकका लागि सरप्राइज हुनेछ’, हमालले भने।
सिनेमाको प्रदर्शन मिति सहितको फर्स्टलुक भोलि सार्वजनिक गर्ने तयारी निर्माताको छ। यो सिनेमामा राजेश हमालसँगै सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजीव जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारहरूको अभिनय छ।
राजु विक्रम थापाले खिचेको सिनेमामा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत रहेको छ।
दिवाकर भट्टराइकै लेखन रहेको सिनेमामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, र ध्रुव न्यौपानेको लगानी छ। सिनेमामा क्रियटिभ सिने आर्टस्का लागि निर्माता नेम महर्जन रहेका छन्। करण सिंह प्रोडक्सन डिजाइनर रहेको सिनेमाका एसोसियट निर्देशक वसन्त अधिकारी हुन्।
आठ वर्षपछि नायक हमाल यो सिनेमाबाट कमब्याक गर्दैछन्। यसैले, उनको कमब्याक कस्तो हुनेछ भन्ने कौतुहलता दर्शकमाझ छ। हमालले पनि यो सिनेमालाई महत्वाकांक्षी प्रोजेक्टको रूपमा हेरेका छन्।