सिनेसुत्र, बिराटनगर- नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने सिनेमा ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।
अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाईरहेको दृश्यबाट सुरु ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन्। बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन्। ट्रेलरमा सिनेमाका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ। ट्रेलर बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो।
ट्रेलर रिलिज पछि सिनेमाकी निर्देशक कृषा चौलागाईले ट्रेलर रिलिज गरेसँगै दर्शकसँग आत्मसमर्पण गरेको बताइन्। ‘ट्रेलर आएसँगै हामीले दर्शकसँग आत्मसमर्पण गरिसक्यौं। टिजर, गीत, पोस्टरजस्तै ट्रेलरलाई पनि मनपराइदिनुहुनेछ भन्नेमा ढुक्क छौं,’ उनले भनिन्।
सिनेमाका निर्माता विशाल चौलागाईले आफूले नेपाली सिनेमा क्षेत्रलाई एउटा राम्रो सिनेमा दिएको बताए। उनले सिनेमाकर्मी मिलेर जान सकेमा सिनेमा उद्योगको भलाई हुने बताए।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको सिनेमामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।
सिनेमामा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन्।
विशाल चौलागाईं निर्माता रहेको सिनेमामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ। सिनेमा आरआर फिल्मस्ले वितरण गर्दैछ। ट्रेलर हेर्नुहोस :