सिनेसुत्र, बिराटनगर- स्मृतिहरू कैद गर्ने माध्यम समयअनुसार बदलिइरहे पनि तिनको महत्व कहिल्यै घट्दैन। एक समय थियो, जब डायरी प्रेमका कथा बोकेर हृदयको प्रतिध्वनि बन्थ्यो। ती पानाहरूमा लेखिएका भावनाहरू समयसँगै पुराना भए पनि तिनको माया कहिल्यै ओइलाउँदैन। यही भावनालाई पुनः जीवन दिन मङ्गलबार सार्वजनिक गरिएको सिनेमाको टिजर ‘ऊनको स्वीटर’ ले दर्शकलाई न्यानो अनुभूति दिएको छ।
सुजन चापागाईँको सङ्गीतले थप जिवन्त बनाएको यो सिनेमामा प्रेम, स्मृति र सम्बन्धका गहिरो भावनाहरू बुन्न खोजिएको छ। टिजरमा डायरीको विशेष महत्व देखिन्छ— जहाँ प्रेमका मीठा र तीतासहितका यादहरू अक्षर बनेर संग्रहित छन्। मुख्य पात्र मिरूना मगरले दिएको डायरीमा विपिन कार्की आफ्ना भावना पोखिरहेका छन्, जसले प्रेममा रहने जटिलता र सुमधुर क्षणहरू दुवैलाई उजागर गर्छ।
टिजर हेर्दा स्पष्ट हुन्छ कि ‘ऊनको स्वीटर’ केवल प्रेमकथा मात्र होइन, यो सम्बन्धको गहिराइ र स्मृतिको स्थायित्वको कथा हो। कलाकारहरू विपिन कार्की, मिरूना मगर, विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ । यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति, र सम्बन्धका उतार-चढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ । विपिन र मिरूनाको अभिनयमार्फत प्रेम र स्मृतिका गहिराइहरू बुन्न खोजिएको छ, भने एलेक्स र परीक्षाले प्रेममा आउने नोकझोक र भावनात्मक टकराबलाई जीवन्त बनाएका छन् । अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।
‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । सुजन चापागाईँको सङ्गीत रहेको चलचित्रलाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ । चलचित्रमा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको पनि अभिनय रहेको छ । टिजर हेर्नुहोस :