सिनेसुत्र, बिराटनगर- गत फागुन २९ गते फागु पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएको नेपाली सिनेमा ‘अञ्जिला’ चौथो हप्ता प्रवेश गरेको छ । यो सिनेमाको लोकप्रियता दिनप्रतिदिन बढ्दै जाँदा चौथो हप्ताको पहिलो दिन करिब १४० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको तुलनामा लगभग दोब्बर हो ।
‘अञ्जिला’ले भारतीय सुपरस्टार सलमान खान अभिनीत सिनेमा ‘सिकन्दर’लाई समेत नेपाल रिलिजमा धक्का दिएको छ । यो सिनेमाले भारतमा राम्रो व्यापार गरिरहेको भए पनि नेपालमा भने कमजोर देखिएको छ । नेपाली दर्शकको रोजाइमा ‘अञ्जिला’ परिरहेको कारण हल सञ्चालकहरू ‘सिकन्दर’को शोहरू खाली भएको बताउँछन् ।
यो सिनेमा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । सिनेमाको प्रचारलाई थप बलियो बनाउन सुब्बा विभिन्न सहरहरूमा दर्शकमाझ प्रत्यक्ष संवाद गरिरहेकी छन् । उनले काठमाडौं, धरान, इटहरी, झापा, विराटनगर, पोखरा र नेपालगन्ज लगायतका स्थानमा दर्शकसँग भेटघाट गर्दै ‘अञ्जिला’ हेर्न आमन्त्रण गरिरहेकी छिन् । एन्जिला गत शुक्रवार ग्रिसबाट नेपाल आएकी थिइन् ।
उनले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । एन्जिलाको यो भ्रमण विशुद्ध सिनेमा प्रचारको लागि हो । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।
यस सिनेमामा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । ट्रेलर हेर्नुहोस :