सिनेसुत्र, बिराटनगर- सिनेमा ‘रणवीर’बाट सिनेमी करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो सिनेमा ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निभाइन्। यी अभिनेत्री यही चैत २९ गतेबाट रिलिज हुने सिनेमा ‘पिताम्बर’मा केही फरक चरित्रमा देखिँदैछिन्।
सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिँदैछिन्। ‘बिहानी विधवा छे र इनोनसेन्ट छे। बिहानी कसरी विधवा हुन्छे भन्ने थाहा पाउन सिनेमा नै हेर्नुपर्छ’, सुपुष्पा भन्छिन्, ‘मैले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ। यो क्यारेक्टरमा फेज र ग्राफ छ। कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानीमार्फत थाहा पाइन्छ।’
सुपुष्पाको डेब्यु सिनेमा ‘रणवीर’ एक्सन बेसमा नै थियो। ‘रणवीर र पिताम्बरको जनरा एउटै भए पनि कथा फरक छ। मेरो क्यारेक्टरमा बिल्कुलै फरकपन पाउनुहुनेछ’, उनी भन्छिन्।
सिनेमाका सह–निर्माता पुरुषोत्तम प्रधानले बोलाएर स्क्रिप्ट सुनाएपछि उनी सिनेमामा काम गर्न सहमत भएकी रहिछन्। ‘यो सिनेमामा काम गर्छु भनेर पहिले नै योजना थिएन। स्क्रिप्ट सुनेपछि नाइँ भन्न सकिनँ। वान लाइन र मेरो क्यारेक्टरले तान्यो’, सुपुष्पा खुल्छिन्।
सुपुष्पाले ‘पिताम्बर’मा अभिनय गरेपछि विधवाको जीवनलाई केही बुझेकी रहिछन्। ‘नेपाली समाजमा बसिसकेपछि विधवाको जीवन बाँच्न गाह्रो हुँदो रहेछ। आफूलाई माया गर्ने मान्छे नै नहुँदा गाह्रो पक्कै हुन्छ। यो सिनेमामा काम गरेपछि मैले केही बुझें। अहिले त महिलाहरुले आफ्नो स्ट्याण्ड लिनुभएको छ। उहाँहरु माथि पनि आइरहनुभएको छ’, उनी भन्छिन्।
उनी मल्टिस्टार सिनेमा ‘पिताम्बर’मा जोडिन पाउनु आफ्नो लागि भाग्यशाली ठान्छिन्। ‘आफ्नो पात्रमा गर्न सक्ने हो कि होइन भन्ने कुराले सुरुमा मलाई गाह्रो भएको थियो। तर मल्टिस्टार सिनेमामा मैले यतिको स्पेस पाएँ भनेर आफूलाई भाग्यशाली ठानेकी थिएँ। यति धेरै कलाकारमा म पनि एउटा छु है भन्नेमा गर्व छ’, उनी भन्छिन्, ‘तर काममा प्रेसर चाहिँ हुँदो रहेछ। सबैको कलाकार राम्रो अभिनय गर्ने हुनुहुन्छ। मेरो अभिनय चाहिँ कताबाट चिप्लिने हो कि भन्ने डर थियो। आफू तयारी अवस्थामा रहेपछि त्यो डर हराउँदो रहेछ।’
सुपुष्पाको बुझाईमा राम्रो भिजन भएको मान्छेले सिनेमा बनाउन सजिलो हुन्छ। ‘महिला र पुरुष निर्देशक भन्दा पनि निर्देशक भनेको निर्देशक नै हो। राम्रो भिजन भएको मान्छेले सिनेमा बनाउन सजिलो हुन्छ। आफ्नो भिजन बुझेको र कस्तो सिनेमा बनाउने भन्ने थाहा पाएको निर्देशकसँग काम गर्न पाएँ। मलाई धेरै सजिलो भयो’, उनी भन्छिन्। सुपुष्पालाई एक्सन सिनेमामा काम गर्न मन रहेछ। ‘एक्सन सिनेमामा आफैले एक्सन गर्न मन छ। यो पहिलोदेखि कै इच्छा हो। त्यस्तो सिनेमाको अफर आयो भनेर स्क्रिप्ट र आफ्नो क्यारेक्टर हेरेर निर्णय लिन्छु’, सुपुष्पा भन्छिन्। ट्रेलर हेर्नुहोस :