‘म पो अलमलमा परेँ हौ’बाट सुरू भई मन छोएको ‘ऊनको स्वीटर’को टिजर

0 Shares

सिनेसुत्र, बिराटनगर- पछिल्ला केही दिनमा चर्चामा रहेको सिनेमा ‘ऊनको स्वीटर’ को टिजरको आरम्भमै ‘म पो अलमल अलमलमा परेँ हौ,’ ‘तमोर खोला,’ ‘फाक्ताङ्लुङ्ग,’ जस्ता शब्दहरूले दर्शकलाई भावनाको खोलामा बगाउँदै लगेको छ। केही दिनअघि सार्वजनिक गरिएको टिजर हेरेपछि नेपाली सिनेमामा मौलिक कथावस्तुको खोजीमा रहेका दर्शकहरूले यसलाई एउटा नयाँ शिराबाट आएको कलात्मक प्रयासका रूपमा लिएका छन्। अटो लेख्ने जमानाका प्रेमी जोडीहरूको मिठो कथामा बनेको सुन्दर सिनेमा हुनसक्ने आकलन दर्शकले गरेको सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाले प्रस्ट पार्छ। धेरैलाई टिजरले आफ्नै किशोरकालीन फ्ल्यास ब्याकमा फर्काइदिएको छ।

एक युट्युब प्रयोगकर्ता योदिन तामाङ लेख्छन्, “प्रत्येक नेपालीलाई यसमा गर्व छ। मैले नेपाली सिनेमा उद्योगमा यस्तो कहिल्यै देखेको थिइनँ। यो असाधारण कलात्मक सृजनालाई बेवास्ता नगर्नुहोस्। म आर्टमाण्डुलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु।”

त्यस्तै, नेपाली सिनेमा हेर्न खासै रुचि नदेखाउने प्रताप पौडेलको प्रतिक्रिया झनै अर्थपूर्ण छ। उनी लेख्छन्, “मैले नेपाली सिनेमा प्राय: हेर्दिन। हिन्दी र अङ्ग्रेजी सिनेमाले बानी बिगारेका छन्। धेरैपछि, अब यो सिनेमा चाहिँ हेर्नुपर्छ कि जस्तो लाग्दैछ।”‘घुमी घुमी’का निर्देशक नवीन चौहानको शैलीप्रति सधैँ प्रभावित रहने राजीव बुढाथोकी लेख्छन्, “इरानी सिनेमामा देख्न पाइन्छ यस्ता दृश्यहरू।” उनी थप्छन्, “जसरी ‘घुमी घुमी’मा सुन्तला लडाउनु भएको थियो, उसै गरी ‘ऊनको स्वीटर’मा ऊनको डल्ला लडाउनु भयो। मलाई मन पर्‍यो।”

विशाल कुँवरले त टिजरलाई जीवनकै अध्यायजस्तै अनुभव गरेका छन्। “हैट, अटो भरेर भावना पोख्ने समयको कथा। अर्थात्, मेरो अनि समकालीन साथीहरूको समयको स्कुले अनि कलेज समय ताकाको कथा। टिजर हेर्दा जिन्दगीको ‘फ्ल्यास ब्याक’लाई नै धागो सरी उनेर यहाँसम्म ल्याइपुर्‍याउनुभएको जस्तो छ,” उनले लेखेका छन्।

आगामी वैशाख २६ गते प्रदर्शनमा आउन लागेको सिनेमामा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन्। उनीहरूका अतिरिक्त एलेक्स पारस, परीक्षा लिम्बु र विल्सन विक्रम राईको पनि प्रमुख अभिनय छ। यसको टिजरमा विपिन र मिरूनाको अभिनयमार्फत प्रेम र स्मृतिका तहहरू उजागर गर्ने प्रयास गरिएको छ, भने एलेक्स र परीक्षाले प्रेममा आउने संवेदनशील द्वन्द्वहरूलाई जीवन्त बनाएका छन्।टिजरमा मिरूनाले दिएको डायरीमा विपिनले आफ्ना भावना शब्दमार्फत पोखेको दृश्य मन छुने खालको छ। मिरूनाको दृष्टिकोणले प्रेमका न्यानोपन, जटिलता र द्विविधालाई उजागर गरेको देखिन्छ।

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको पहिलो फिचर सिनेमा हो। निर्देशक नवीन चौहानकै लेखनमा बनेको सिनेमामा सुरज कटुवालको सह लेखन रहेको छ। सिनेमाका गीतम सङ्गीत सुजन चापागाईँले दिएका छन्। सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरको पनि सशक्त उपस्थिति रहेको यो सिनेमाले प्रेम, स्मृति, र सम्बन्धका विविध तहलाई एउटै न्यानो स्वीटरजस्तो बाँध्ने प्रयास गरेको निर्देशनको कथन छ।

निर्देशक चौहान भन्छन्, “सञ्जालहरूमा भेटिएका गहिरा र आत्मीय प्रतिक्रियाले यो सिनेमा केवल हेर्नुपर्ने मात्र हैन, अनुभव गर्नुपर्ने सिनेमा बन्नेछ भन्ने विश्वास लिएको छु।” टिजर हेर्नुहोस :

 

सम्बन्धित समाचारसबै