सिनेसुत्र, बिराटनगर- फ्राइडे रिलिजमा आज (शुक्रबार)बाट सिनेमा ‘कर्मा’ प्रदर्शनमा आएको छ। ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित एक्सन जनराको ‘कर्मा’ एकसाथ देशव्यापी रुपमा प्रदर्शनमा आएको हो।
नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको सिनेमा ‘कर्मा’ काठमाडौं र मोफसलका हल गरेर करिब १ सय ५० शोमा प्रदर्शन भइरहेको छ। यो सिनेमाले एक्सन, ड्रामा र सस्पेन्सको सम्मिश्रणमार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ। जसले दर्शकलाई प्रारम्भदेखि अन्त्यसम्म बाँधेर राख्न सफल हुने विश्वास निर्माणपक्षको रहेको छ।
‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ। ‘कर्मा’को कथा निर्देशक चौधरी आफैँले लेखेका छन्।
सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमा मा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ। दर्शक र समीक्षकको सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षासहित हलमा आएको ‘कर्मा’ नेपाली एक्सन सिनेमा मा नयाँ स्वाद दिन सक्ने विश्वास गरिएको छ।
ट्रेलर हेर्नुहोस :