‘कोशेढुंगा’ सिनेमा सेटमै अनलाइन सम्पादन: दर्शक निराश हुने छैनन् – कार्यकारी निर्माता खड्का

0 Shares

सिनेसुत्र, बिराटनगर- सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’ कस्तो बन्ला भन्ने चासो सिनेकर्मीदेखि दर्शकसम्मलाई छ।

दर्शकमा रहेको अपेक्षा पूरा गर्ने ‘कोशेढुंगा’का कार्यकारी निर्माता दिनेश खड्काले बताए। सिनेमाको कथा र छायांकनमा भइरहेको मेहनतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ।

“अहिले जुन हिसाबले काम भइरहेको छ, त्यसबाट हामीले सोचेभन्दा राम्रो भइरहेको छ। अहिलेसम्मको काम हेर्दा आउटपुट पनि राम्रो आउनेमा हामी टुक्क छौँ,” खड्काले भने, “सिनेमाको अनलाइन सम्पादनको काम सेटमै भइरहेको छ, जसमा सबै कलाकार र प्रविधिकहरुको मेहेनत देख्दा दर्शकलाई केही खास हुनेछ भन्ने हामी सेटबाटै भन्न सक्छौँ।”

खड्काले स्याङ्जाको स्थानीय तह, वडा र पालिकाबाट पाएको सहयोगले पनि छायांकन सहज र प्रभावकारी भएको बताए। “पूर्ण बहादुरको सारङ्गीले नेपाली बक्स अफिसमा करिब ४७ करोडको ऐतिहासिक व्यापार गर्दै सरोज पौडेललाई नेपाली सिने क्षेत्रमा नयाँ उचाइमा पुर्याएको छ,” उनले भने, “दर्शकको माया र अपेक्षालाई बुझेर ‘कोशेढुंगा’मा पनि त्यसअनुसारको मेहनत गरिरहेका छौँ। हामी कुनै पनि हालतमा दर्शकलाई निराश बनाउने छैनौं।”

निर्माण घोषणादेखि नै दर्शकमाझ उत्सुकता र अपेक्षा दुवै बढाएको यो सिनेमाको छायांकन स्याङ्जाका विभिन्न स्थानमा पछिल्लो एक महिनादेखि भइरहेको छ। च्यासलस्थित सेटमा करिब एक हप्ता छायांकन गरेर बाँकी छायांकनका लागि निर्माण टिम स्याङ्जा गएको थियो।

कार्यकारी निर्माता खड्काका अनुसार अबको एक सातामा सम्पूर्ण छायांकन सकिनेछ। स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारी क्षेत्रमा ‘कोशेढुंगा’को करिब एक महिनादेखि छायांकन भइरहेको छ।नरदेवी फिल्म्सको प्रस्तुति रहेको सिनेमा ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहनेछ।

सिनेमाको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्। बाबु श्रेष्ठले छायांकन गरिरहेको यो सिनेमालाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्।

यस सिनेमाको गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहने छ। कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्। निर्माण टोलीले ‘कोशेढुंगा’लाई वि.सं. २०८२ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ। यद्यपि औपचारिक रिलिज मिति भने घोषणा गरिएको छैन।

सम्बन्धित समाचारसबै