नयाँ वर्षको अवसरमा ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ ओटिटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपालकै अग्रणी ओटिटी प्लेटफर्म ‘सिनेमाघर’ले नयाँ वर्ष २०८२ को पावन अवसर पारेर दुई ब्लकबस्टर सिनेमा ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ । नेपालमा हलमा हेर्न नपाएका र विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी रिलिज भएका यी दुवै सिनेमाले नेपाली समाजका गहिरा सामाजिक पक्षहरूलाई उजागर गरेका छन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको ‘बोक्सीको घर’ सिनेमा नेपाली समाजमा विद्यमान ‘बोक्सी’ भन्ने कुप्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ । सिनेमामा अभिनेत्री केकी अधिकारीले मुख्य भूमिका निर्वाह गरेकी छन्, जसमा उनले बोक्सीको आरोप खेप्नुपरेकी एक महिलाको पीडादायी अनुभवलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन् । यो सिनेमा २०८१ वैशाख १४ गते हलमा प्रदर्शनमा आएको थियो र ५१ औँ दिनसम्म प्रदर्शनमा रही व्यावसायिक रूपमा सफल भएको थियो । यस सिनेमामा बालविवाह भएकी बालिका, उनीमाथि लागेको बोक्सीको आरोप, पिपलको रुखलाई प्रयोग गरेर बोक्सीको आरोप लगाइएकी महिला पात्र, र समाजले गर्ने शोषणको कथालाई मुख्य विषय बनाइएको छ । 

यस्तै, उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘मनसरा’ सिनेमा ग्रामीण जीवनको संवेदनशील पक्षहरूलाई उजागर गरेको छ । यस सिनेमामा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, र प्रवीण खतिवडाले मुख्य भूमिका निर्वाह गरेका छन् । यो सिनेमा २०८१ साल वैशाख २१ गते हलमा रिलिज भएको थियो । यस सिनेमामा काठ क्षेत्रका गरिखाने वर्ग र उनीहरूको सम्बन्धको आयामलाई देख्न सकिन्छ ।

‘सिनेमाघर’ नेपालकै अग्रणी ओटिटी प्लेटफर्म हो, जसले नेपाली सिनेमाहरूलाई डिजिटल माध्यमबाट दर्शकहरूसम्म पुर्‍याउने कार्य गर्दै आएको छ । यस प्लेटफर्मले नेपाली सिनेमा उद्योगलाई डिजिटल युगमा प्रवेश गराउने महत्त्वपूर्ण भूमिका खेलेको छ । सिनेमाघरको एप एन्ड्रोइड र आइओएस मोबाइलहरू, स्मार्ट टिभीमा उपलब्ध छ भने ल्यापटप तथा डेस्कटपमा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ । यसमा सिनेमा हेर्न चाहने दर्शकले संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड प्रयोग गरी एवम् नेपाल तथा भारतबाट सरल रूपमा विभिन्न डिजिटल वालेटहरू तथा क्युआर कोड भुक्तानी गर्न सक्नेछन् ।

सम्बन्धित समाचारसबै