तुलसी घिमिरेको निर्देशनमा ‘पहाड’ कात्तिक ७ मा रिलिज घोषणा: विपीन, सुनिल र मदनकृष्ण एकसाथ

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘पहाड’को प्रदर्शन घोषणा गरिएको छ । यो सिनेमा आगामी कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको सिनेमाले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्‍याउने लेखक तथा निर्देशक घिमिरेले बताए ।

निर्देशक घिमिरेले वितरकसँग छलफल गरेर प्रदर्शन मिति गरेको जानकारी दिए । ‘नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै हाम्रो बाँकी कामलाई पुरा गर्ने अवधि मापन गरेर प्रदर्शन मिति घोषणा गरेका हौं । सिनेमाको विषयवस्तु पारिवारिक भएकाले पनि यसलाई स-परिवार हल गएर हेर्न मिल्ने समयमा प्रदर्शन गर्दैछौं,’ निर्देशक घिमिरेले भने ।नेपालको गोरखामा ३६ दिन छायांकन भएको र यही वैशाखमा १० दिन भारतको मुम्बईमा बाँकी छायांकन गरिने निर्देशक घिमिरेले जानकारी दिए । ‘बलिदान’पछि मदनकृष्ण श्रेष्ठ र ‘चिनो’पछि सुनिल थापासँग काम गरेका निर्देशक घिमिरे नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वस्त छन् । उनले पुराना कलाकार झैं नयाँमा पनि आफ्नो पात्र र काम प्रतिको समर्पण उस्तै पाएको बताए ।

भाग्यरत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण भइरहेको सिनेमामा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यही सिनेमामार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउँदैछन् । सिनेमाको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरे प्रोडक्सन डिजाइनरमा छिन् ।ओजस्वी केसी निर्माता रहेको सिनेमालाई प्रमोद प्रधानले छायांकन गरिरहेका छन् । सिनेमामा रञ्जित गजमेर संगीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । रिम्पोछे लामा थिङग र सुरेश लामा थिङग सह-निर्माता रहेको सिनेमा नेपालमा वैङकटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्मस्ले वितरण गर्नेछन् । सिनेमाको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।

सम्बन्धित समाचारसबै