१३ वटा हलमा ‘लाज शरणम्’ले मनायो प्रदर्शनको ५१ औँ दिन : कति कमायो ?

0 Shares

सिनेसुत्र, बिराटनगर- शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘लाज शरणम्’ले आजबाट आफ्नो प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ। उच्च शोहरूका साथ प्रदर्शन सुरु गरेको यो सिनेमामा अझै पनि उपलब्ध शोहरूमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ।

सिनेमाले देशभरका १३ वटा हलहरूमा ५१औँ दिनको प्रदर्शन सफलताका साथ मनाएको छ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सिनेमा तथा मोफसलतर्फ झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकको डिम्याक्स सिनेमाज र बुटवलको आइएनआई सिनेमाजमा प्रदर्शनरत छ।“हाम्रो सिनेमा लाज शरणम् ५१औँ दिनमा प्रवेश गरेको छ,” निर्माता नवीन श्रेष्ठले बताए, “दर्शकको राम्रो प्रतिक्रियासहित अझै पनि उच्च अकुपेन्सीमा चलिरहेको छ।”

पहिलो दिनमै एक करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको सिनेमाले हालसम्म ५ करोड रुपैयाँ ग्रस कमाइ गरिसकेको निर्माता श्रेष्ठको भनाइ छ। सिनेमामा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा देखिएका छन्।

त्यस्तै, कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बु, प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत लगायत कलाकारहरूको पनि अभिनय रहेको छ। कर्णालीको कथाव्यथा बोकेको यो सिनेमालाई कुमार कट्टेलले निर्देशन गरेका हुन्। सुदीप बरालको छायांकन रहेको सिनेमाका सहनिर्मातामा राम नरेश शाह र सिर्जना खड्का छन्।

चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहद्वारा निर्माण गरिएको यो उनीहरूको पहिलो फिचर सिनेमा हो।

सम्बन्धित समाचारसबै