सिनेसुत्र, बिराटनगर- नायक पल शाहको यो वर्ष रिलिज हुन लागेको पहिलो सिनेमा हो, ‘मोहर’ । यो सिनेमालाई साउन २३ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ। सिनेमा ‘मेकर्स प्रा.लि’ को ब्यानरमा निर्माण भएको यस सिनेमामा ओम प्रतिकको लेखन तथा निर्देशन रहेको छ। सिनेमाका निर्माता चुम्बन जंग शाही हुन्। सिनेमामा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ।
निर्माणपक्षले सिनेमाका मुख्य नायक पल शाहको केही तस्वीरहरू सार्वजनिक गरेको छ, जहाँ उनी लामो कपाल पालेको अवतारमा देखिन्छन्। उनको हातमा भरुवा बन्दुक पनि देखिएको छ, जसले दर्शकमा पलको भूमिकाको बारेमा कौतुहलता थप बलियो बनाएको छ।
दीपेन बस्न्यातको डीओपी रहेको सिनेमामा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द रहेको छ।
सिनेमाका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन्। कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको सिनेमाका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्। सिनेमाको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको हो।
यो सिनेमा र आफ्नो भूमिकालाई लिएर पल शाह निकै उत्साहित छन्। उनले यसपटक दर्शकले आफूलाई फरक गेटअपमा देख्न पाउने बताएका छन्। सिनेमाको कथावस्तु बारे भने निर्माणपक्षले अहिलेसम्म केही खुलाएको छैन।
