‘एक दशकको संघर्षको जवाफ हो सिनेमा ‘नरसिंहा अवतार’ – रमेश चन्द सोडारी

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक दिवाकर भट्टराई आफ्नो एक्सन ड्रामा ‘नरसिंहा अवतार’ का लागि धमाधम गठिलो शरिर र एक्सन गर्नसक्ने रफ एण्ड टफ लुक्सवाला अभिनेताको खोजीमा थिए।उनको यो सिनेमाका लागि यस्तै विशेषता बोकेका अनुहारहरूको आवश्यकता थियो। लिडका लागि उनले राज कटुवाल भेटे भने अर्को एक अनुहारको खोजी गर्दा भेटिए रमेश चन्द सोडारी।

‘निर्देशक दिवाकर भट्टराई सर ‘नरसिंहा अवतार’ को लागि एकजना अलि एक्सनमा निपूर्ण कलाकारको खोजीमा हुनुहुँदोरहेछ। कोरियोग्राफर माइकल चन्दले मेरो फोटोहरू देखाउनुभएछ। फोटो हेरेपछि मलाई मिटिङका लागि बोलाउनुभयो र स्क्रिप्ट सुनाउनुभयो’, रमेशले आफ्नो पहिलो बिगबजेट सिनेमासँग जोडिनुको प्रसंग सुनाउँदै भने। जिम गरेर बनाएको आकर्षक शरिरको साथमा मिक्स मार्सल आर्टको लामो समयदेखिको अभ्यास यो सिनेमाका लागि क्वालिफाइ हुन रमेशका लागि पर्याप्त बन्यो। उनी मिक्स मार्सल आर्टसँगै तेक्वान्दो र सितेरियो कराँतेका ब्ल्याक बेल्टसमेत हुन् भने जिम्न्यास्टिकमा पनि कुशल छन्।

अहिले पनि उनी हरेक विहान ४ बजे जिम पुग्छन् भने ८ बजेदेखि ११ बजेसम्म मिक्स मार्सल आर्टको अभ्यास गर्छन्। यो उनको दैनिकीजस्तै बनिसकेको छ। ‘नरसिंहा अवतार’ मा उनी सकारात्मक भूमिकामा प्रस्तुत हुनेछन्। यो सिनेमाबाट निक्कै आशावादी रहेको उनी बताउँछन्। ‘राम्रो मेहनत गरेको छु, त्यसैले मैले मेरो कामले उचित नतिजा पाउने आशामा छु। दर्शकहरूले मेरो पात्र मनपराउनुहुनेछ, यो मान्छेले राम्रो गरेको छ भन्ने प्रतिक्रिया सुन्न पाउने आशा छ’, उनले भने।‘नरसिंहा अवतार’ लाई उनी मनोरञ्जनको प्याकेजका रूपमा व्याख्या गर्छन्। ‘यो एक्सन, लभस्टोरी भएको एउटा प्याकेज सिनेमा हो। प्याकेजका सबै कुराले यो सिनेमा भरिपूर्ण छ।’ ठूलो पर्दामा रमेशको यो चौथो सिनेमा हो। ‘मेहेन्दो’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यूको मौका उनले पाए तर सिनेमाले हलको बाटो समाउन सकेन। डोल्पामा सुटिङ भएको यो सिनेमा रिलिज नै भएन।

डेब्यू सिनेमाको यो दुखान्त नतिजालाई उनी एउटा टुटेको सपना मान्छन् र हरेक दिन यही टुटेको सपना सम्झेर अझ बढी मेहनत गर्छन्—कुनै दिन त्यो सपना बिर्साउने कामना गरेर। उनलाई लाग्छ, यो सिनेमा रिलिज भएको हुँदो हो त आज उनी करियरका हिसाबले केही फरक अवस्थामा हुने थिए। त्यो सिनेमा रिलिज नहुँदा उनको संघर्षले आशातित नतिजा अझै नपाएको उनको बुझाइ छ।

यो सिनेमापछि ‘मन त परदेशी’, विराज भट्टको ‘साङ्लो’ तथा ‘वानर सेना’ नामका ३ सिनेमा गरे। यी सबै सिनेमा उनका लागि सिकाइका पाठशाला भए र अब ‘नरसिंहा अवतार’ भने उनका लागि बोर्ड परीक्षा भएको उनको बुझाइ छ।‘यो सिनेमाबाट म आशावादी छु। बिग बजेट, बिग व्यानर, बिग क्यानभासको सिनेमा पाएको छु। सिने बजारमा पनि आशा गरिएको सिनेमा हो यो। कथा प्रस्तुति दर्शकको स्वादलाई ध्यानमा राख्दै बनाइएको छ। अघिल्ला सिनेमाहरू मेरा सिकाइका कक्षा थिए भने ‘नरसिंहा अवतार’ लाई मैले बोर्ड परीक्षा ठानेको छु र मैले यसबाट डिस्टिङ्सन ल्याउने गेस गरेको छु। आगे दर्शकको मर्जी’, सिनेमाप्रतिको विश्वास देखाउँदै रमेशले भने।

कयौं म्यूजिक भिडियोमा समेत आफ्नो क्षमता देखाइसकेका रमेशले नेपाली रजतपटमा संघर्ष थालेको झण्डै दशक पुग्न लागेको छ। यो दशक लामो मेहनत र संघर्षको नतिजा ‘नरसिंहा अवतार’ ले दिने बलियो विश्वास छ उनलाई। उनको यो विश्वासको नतिजा जेठ ९ गते थाहा हुनेछ।

सम्बन्धित समाचारसबै