सिनेसुत्र, बिराटनगर- दीपेन्द्र के खनालले निर्देशन गरेको सिनेमा ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक भएको छ। जेठ २ गते रिलिज हुने सिनेमाको निर्माणपक्षले मंगलवार ‘आँखा’ बोलको गीत सार्वजनिक गरेको हो।
रिकेश गुरुङको स्वर रहेको गीतमा राम अविरल विष्टको शब्द, एसडी योगीको संगीत रहेको छ। प्रेम जोडीको कथा बोल्ने लिरिकल गीतको भिडियोमा सिनेमामा मुख्य कलाकारमध्ये खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी छन्।
गीतको भिडियोमा प्रेमी र प्रेमिकाको आँखामा एकअर्काप्रति देखिएको प्रेम देख्न सकिन्छ, जसमा सिनेमाका केही फुटेज समावेश छन्। सिनेमा ‘के घर के डेरा : घर नं २’ सोसल ड्रामा हो। सिनेमाको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन्। यो उनको पहिलो सिनेमा हो।
सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ।
सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ। ‘के घर के डेरा : घर नं २’ का निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। भिडियो हेर्नुहोस :