जीवनको अन्तिम सत्य बोल्ने सिनेमा ‘के घर के डेरा : घर नं २’

0 Shares

सिनेसुत्र, बिराटनगर-

पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ
मान्छे आफैँ पाहुना, भोलि घर फर्किनु छ
तेरो–मेरो के कुरा, के घर, के डेरा… ।

 यी हरफ सिनेमा ‘के घर के डेरा : घर नं २’को टिजरका हुन् । यी हरफले जीवनको कटु सत्यलाई उजागर गर्छन् । हरेक व्यक्तिको जीवन सत्यनजिक हुने तथ्यलाई यी हरफले आम नागरिकलाई झकझक्याउने प्रयास गरेका छन् ।

पृथ्वी नै डेरा भएको तथ्यलाई सिनेमा‌ले उजागर गरेको यी हरफले बुझाउँछ । त्यसैले तेरो मेरो भनेर भन्नु नै वास्तवमा बेकार भएको सिनेमा‌ले बताउने संकेत यसको पब्लिसिटी कन्टेनले दिइरहेका छन् ।

जति नै तेरो मेरो गरे पनि अन्तिममा पुग्ने घाट नै हो र हुने धुँवा नै हुने हो भन्ने सत्यलाई मानिसले स्वीकार गर्नुपर्ने टिजरले यसअघि नै बताइसकेको छ ।

अन्ततः मान्छे खाली हात घाट जाने सत्यलाई स्वीकार गर्न नसक्दा अनेक समस्या भइरहेको माथिका हरफले प्रष्ट भनेका छन् । डेरालाई प्रतिबिम्ब बनाएर सिनेमा‌ले जीवनको सत्य देखाउने संकेत दिएको छ ।

त्यसैले ‘के घर के डेरा : घर नं २’ले आम जनजीवनको सत्यनजिक रहेर कथा भन्ने प्रष्ट भइसकेको छ । जति नै अमिर भए पनि नांगै जानुपर्ने सत्य, जीवनको उत्तरार्धमा एक्लै हुनुपर्ने यथार्थलाई चिताको धुँवा नजिकै बसेर धुँवा हरिरहेको दृश्य र संवादले जीवनको अन्त्यतिर वा दुःखमा मात्रै महसुस गर्ने गरेको सत्यलाई सिनेमा‌ले भन्ने अनुमान गर्न सकिन्छ ।

त्यसैले निर्देशक दीपेन्द्र के खनालले आम दर्शकसँग सिनेमा‌ले कनेक्ट गर्ने र जीवनको सत्यलाई महसुस गराउने बताउँछन् । हरेक व्यक्ति, घर र समाजले कुनै न कुनै समय भोग्ने कथा ‘के घर के डेरा : घर नं २’ले अनुभूत गराउने उनको दाबी छ ।सिनेमा सधैँ जीवनको नजिक हुनुपर्ने भन्ने मान्यता आफ्नो रहेको भन्दै उनले त्यही अनुसार ‘के घर के डेरा : घर नं २’ निर्माण गरिएको बताएका छन् । त्यसैले उनी यो सिनेमा‌लाई जीवनको सत्यनजिक रहेको भन्न रुचाउँछन् ।

‘के घर के डेरा : घर नं २’ले जेठ २ गते रिलिज हुँदैछ । सिनेमा‌को कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । उनको यो पहिलो स्क्रिप्ट हो ।

सिनेमा‌मा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।

सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । सिनेमा‌को कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धिसागरले लेखेका हुन् । उनको यो पहिलो सिनेमा हो ।

कृष्णबहादुर थापाको सिनेमा‌मा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताका रूपमा युवराज कार्की छन् भने निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् । टिजर हेर्नुहोस :

सम्बन्धित समाचारसबै