भोलि मातातीर्थ औंसीको अवसरमा बिराटनगरमा रु. १०० मा ‘अञ्जिला’ हेर्ने मौका

0 Shares

सिनेसुत्र, बिराटनगर-  बिराटनगरको सेन्ट्रल मल्टिप्लेक्स र सिटी सिनेमा हलमा सिनेमा ‘अञ्जिला’ भोलि बैशाख १४ गते आइतबार, मातातीर्थ औंसीको अवसर पारेर विशेष अफरसहित प्रदर्शन हुँदैछ।

“यो कथा केवल अञ्जिलाको मात्र होइन, अञ्जिलाकी आमाको पनि कथा हो।” आमा र छोरीबीचको गहिरो सम्बन्धलाई अत्यन्तै भावनात्मक रूपमा प्रस्तुत गरेको यस सिनेमामा आमाको माया र संघर्षको कथा भएको हुँदा, यो विशेष अवसरमा सिनेमा निर्माण टिम र हल सञ्चालकहरूको सहकार्यमा दर्शकहरूका लागि केवल रु. १००/- मा टिकट उपलब्ध गराउने निर्णय गरिएको हो।

सिनेमा सेन्ट्रल मल्टिप्लेक्समा दिउँसो ३:०० बजे र सिटी सिनेमा हलमा साँझ ६:०० बजे सिनेमा प्रदर्शन गरिनेछ।फागुन २९ गतेदेखि प्रदर्शनमा आएको ‘अञ्जिला’ भोलि ४५ औं दिनमा प्रवेश गर्दैछ भने शुक्रबार ५१ औं दिन मनाउने तयारीमा छ। हाल देशभर ४८ देखि ५१ वटा सिनेमा हलहरूमा सिनेमा प्रदर्शनरत रहेको निर्माण पक्षले जनाएको छ।नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यस सिनेमामा एन्जिला आफैले अभिनय समेत गरेकी छन्।

मिलन चाम्सको निर्देशनमा बनेको ‘अञ्जिला’ मा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

प्रेमकुमार श्रेष्ठको निर्माण रहेको ‘अञ्जिला’ ले केवल एक खेलाडीको यात्रा मात्र नभई आमा–छोरीबीचको प्रेम, संघर्ष र बलियो सम्बन्धलाई समेत उजागर गरेको छ।

सिनेमा टिमले मातातीर्थ औंसीको दिन यो विशेष अफरमार्फत दर्शकलाई सिनेमा हेरेर आमा र छोरीबीचको सम्बन्धलाई अझ नजिकबाट महसुस गर्न आग्रह गरेको छ।

 

 

सम्बन्धित समाचारसबै