‘ऊनको स्वीटर साँझ पोखरा’मा हजारौँ दर्शकमाझ सुजन चापागाईँको प्रस्तुति: तीन नयाँ पोस्टर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- रिलिज मिति नजिकिँदै जाँदा नेपाली सिनेमा ‘ऊनको स्वीटर’ ले प्रचार–प्रसार अभियानलाई अझ तीव्र बनाएको छ । सिनेमा युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको छ । यही शृङ्खलामा शुक्रवार साँझ पोखराको फेवा ताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ शीर्षकको भव्य कार्यक्रम सम्पन्न भयो ।

फेवा किनारको हल्लनचोकमा आयोजित सो कार्यक्रममा चर्चित गायक तथा सिनेमाका गीत निर्देशक सुजन चापागाईँले हजारौँ दर्शकबीच आफ्नो सजीव प्रस्तुति दिए । उनले ऊनको स्वीटरका गीतहरू ‘मखमली’, ‘काफ्ले’, ‘फूल’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गरे । साथै, सोही दिन प्रसिद्ध लोकगायक स्व. झलकमान गन्धर्वको ९०औँ जन्म जयन्तीको अवसर पारेर उनले झलकमानलाई समर्पित विशेष प्रस्तुति समेत दिए । झलकमान सारङ्गी पाठशालाका विद्यार्थीहरूसँग उनले ‘बाला जोबन’ गीत गाएका थिए । सो अवसरमा झलकमानको परिवार र सारङ्गी पाठशालालाई सम्मानसमेत गरियो । पाठशालाका बाल कलाकारहरूले सारङ्गी वादन प्रस्तुत गर्दै दर्शकको मन जिते ।

कार्यक्रममा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, नव–कलाकार एलेक्स पारस, कलाकार माओत्से गुरुङ, निर्देशक नवीन चौहान, कार्यकारी निर्माता मिलन खत्री, वितरक पुष्कर घिमिरे, मिडिया एक्जिक्युटिभ जीवन पराजुली लगायतको उपस्थिति थियो ।कार्यक्रमकै अवसरमा फिल्मका तीन नयाँ पोस्टरहरू सार्वजनिक गरियो । अभिनेता विपिन कार्कीले दर्शकलाई सम्बोधन गर्दै सिनेमा ऊनको स्वीटर मौलिक बनेको बताउँदै हलसम्म पुगेर हेर्न अनुरोध गरे । कलाकार माओत्से गुरुङले आफू सधैँ राम्रो ब्यानरको सिनेमा मा काम गर्न चाहने बताउँदै आर्टमान्डूको अफर सजिलै स्वीकारेको उल्लेख गरे ।

निर्देशक नवीन चौहानले आर्टमान्डूका गीतहरूले जस्तै सिनेमा ले पनि दर्शकलाई सन्तुष्टि दिने विश्वास व्यक्त गर्दै वैशाख २६ गते रिलिज मितिको पर्खाइ गर्न आग्रह गरे ।

नायिका परीक्षा लिम्बुले दर्शकमाझ देखिएको उत्साहबाट आफू उत्साहित भएको बताइन् भने, यही सिनेमा मार्फत अभिनय यात्रा सुरु गरेका एलेक्स पारसले दर्शकमाझ प्रत्यक्ष रूपमा आउन पाउनु ठुलो खुसी भएको बताए । एलेक्स यसअघि आर्टमान्डूकै गीत ‘फूलथुङ्गे रानी’मा अभिनय गरेर चर्चा कमाएका थिए ।कार्यक्रमको आकर्षणको रूपमा एलेक्स र परीक्षाले ‘काफ्ले’ गीतमा रमाइलो नृत्य प्रस्तुत गरे । साथै, पोखरा कला केन्द्रका कलाकारहरूले पनि आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन दिलाए । अब ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’को अर्को शृङ्खला यही वैशाख १८ गते धरानमा हुँदैछ ।

वैशाख २६ गते विश्वव्यापी रिलिज हुने सिनेमा ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक सिनेमा हो । विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस सिनेमा मा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ ।

सम्बन्धित समाचारसबै