सिनेमा ‘अञ्जिला’ले १० करोडको व्यापार पार गर्दै सातौँ हप्तामा: ५१ दिने सेलिब्रेसनको तयारी

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा उद्योगमा सङ्घर्षशील महिलाहरूको प्रेरणादायी कथा लिएर आएको सिनेमा ‘अञ्जिला’ भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा विशेष रूपमा प्रदर्शन भएको छ। नगर प्रमुख कैलाश कुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउन्ड सिस्टमयुक्त नगरपालिका हलमा सिनेमा ५ सय दर्शकको सहभागितामा चौथो पटक प्रदर्शन भएको निर्देशक मिलन चाम्सले बताए।

यस विशेष शोमा सिनेमाका निर्देशक मिलन चाम्स स्वयं उपस्थित रहे। उनले भोजपुर, जहाँ पहिले सिनेमा हल थियो तर विविध कारणले बन्द भयो, यहाँ लगातार शोहरू हुनु गौरवको विषय रहेको बताए। निर्देशक चाम्सले भने, “सिनेमा हल नभएको स्थानमा लगातार शो हुनु आफैँमा ऐतिहासिक उपलब्धि हो, र यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको छ।”

‘आठौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप’को अवसरमा गरिएको यस विशेष शोबाट उठेको मुनाफा सिनेमाकी मुख्य पात्र एन्जिला तुम्बापो सुब्बाको घर निर्माणमा खर्च गरिने पनि निर्देशकले जानकारी गराए। नगर प्रमुख आलेले सिनेमा ‘अञ्जिला’ जस्तो आशयपूर्ण फिल्म आफ्नो नगरपालिकामा प्रदर्शन गर्न पाउँदा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता अर्थपूर्ण सिनेमाको प्रदर्शनका लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताए। साथै, उनले राज्यले गर्नुपर्ने काम सिनेमा टिमले गरेको भन्दै एन्जिलाको घर निर्माणका लागि नगरपालिकाको तर्फबाट रु. ५०,००० नगद सहयोग गर्ने घोषणा पनि गरे। निर्देशक चाम्सले देशभरका स्थानीय सरकारबाट आफुले यस्तै प्रकृतिको सहयोग अपेक्षा गरेको जनाए।हाल ‘अञ्जिला’ सातौँ हप्तामा प्रवेश गरिसकेको छ। अहिले पनि काठमाडौं उपत्यकासहित देशभर गरी करिब ४० शोहरू जारी रहेका छन्। सिनेमा युनिटले वैशाख १९ गते सिनेमा प्रदर्शनको ५१ औँ दिन विशेष सेलिब्रेशन कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।

गत वर्षको अन्त्यतिर फागुन २९ गते प्रदर्शनमा आएको भए पनि ‘अञ्जिला’ ले वर्ष २०८१ को उत्कृष्ट पाँच सिनेमाको सूचीमा आफ्नो स्थान सुरक्षित गरेको छ र वितरकका अनुसार यसको ग्रस व्यापार १० करोड नाघिसकेको छ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित यो सिनेमामा एन्जिला आफैँले प्रमुख भूमिका निर्वाह गरेकी छन्। निर्देशक चाम्सका अनुसार सिनेमामा प्रस्तुत सङ्घर्ष र सपना हामी सबैको जीवनसँग कतै न कतै मिल्दो भएकाले दर्शकसँग भावनात्मक सम्बन्ध कायम गर्न सफल भएको छ।

‘अञ्जिला’ मा एन्जिलाका अतिरिक्त प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ।

सम्बन्धित समाचारसबै