सिनेसुत्र, बिराटनगर- नेपाली समाजका गम्भीर समस्याहरूलाई केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले ‘झोला’ र ‘भोर’ सिनेमा निर्माण गरेका थिए। करिब १४ वर्ष अगाडि रिलिज भएको ‘झोला’ व्यापारिक रूपमा समेत सफल बनेको थियो। सो सिनेमाले नेपाली समाजमा एक समय विद्यमान अमानवीय सती प्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको थियो, जुन प्रसिद्ध साहित्यकार कृष्ण धरावासीको ‘झोला’ नामक छोटो कथामा आधारित रहेको छ। त्यसपछि भट्टराईले निर्देशन गरेको ‘भोर’ सिनेमा मधेस क्षेत्रको सामाजिक यथार्थमा आधारित कथामा बनेको थियो। यसले दाइजो प्रथाका कारण महिलाहरूले भोग्नुपरेको हिंसा, घरेलु यातना र सामाजिक अन्यायलाई उजागर गरेको थियो।
‘भोर’ले गहिरो सामाजिक सन्देश बोके पनि व्यावसायिक रूपमा भने सफलता हासिल गर्न सकेन। तर, त्यो असफलताले निर्देशक भट्टराईलाई समाज परिवर्तनका लागि अझ गहिरा विषयमा काम गर्न प्रेरित गर्यो। सोही प्रयास स्वरूप भट्टराईको तेस्रो प्रयास सिनेमा ‘झिल्को’ हो, जसले आजको डिजिटल कुलतमाथि प्रश्न गरेको छ। “डिजिटल प्रवृत्तिले हाम्रो जीवनशैलीलाई विकृत बनाइरहेको छ। मानिसहरू परिश्रमभन्दा सजिलो मार्ग खोज्दै भर्चुअल दुनियाँमा हराइरहेका छन्,” भट्टराई भन्छन्, “झिल्कोले डिजिटल कुलतले एउटा सामान्य परिवार र बालबालिकामाथि कस्तो असर पार्छ भन्ने कथा प्रस्तुत गरेको छ।”
उनले थपे, “आज हामी डिजिटल कुलतलाई सामान्य ठानिरहेका छौँ, तर यो आगोको झिल्को जस्तै बिस्तारै हाम्रो आत्मा डढाइरहेको छ। ‘झिल्को’ यही खतरा देखाउने सिनेमा हो।”
निर्देशक भट्टराईले दर्शकलाई ‘झिल्को’ सिनेमामार्फत आफ्नो गल्तीहरू पहिचान गरेर विवेकपूर्ण जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। “सिनेमा समाजको दर्पण र मार्ग निर्देशक हो,” भट्टराई भन्छन्, “त्यसैले हामीले यी संवेदनशील कथाहरू उठान गर्नु आवश्यक ठानेका हौँ। ‘झिल्को’ तपाईँ र तपाईँको परिवारको यथार्थसँग गहिरो रूपमा जोडिनेछ।”
‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ, जसमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी, सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको सिनेमाको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्। सिनेमाको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन्।
‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्। सिनेमा जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो। 