सिनेसुत्र, बिराटनगर- गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘होस्टेल ३’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा लगातार ५१ औँ दिन पूरा गरेको छ। यस अवसरमा ५१ दिनको प्रदर्शनको उपलब्धिलाई स्मरणीय बनाउन विशेष कार्यक्रम सोमवार आयोजना गरिएको छ। सिनेमाले शनिवार नै ५१ दिन पूरा गरेको थियो। विभिन्न कारणले दुई दिन ढिला गरी कार्यक्रम आयोजना गरिएको निर्देशक सशान कँडेलले जानकारी दिए।
सो अवसरमा सिनेमा युनिटलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख कलाकारहरू पारस बम (कुलब्वाय), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँको उपस्थिति रहेको थियो भने, पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान अनुपस्थित रहे।
कार्यक्रममा सिनेमामा विशेष भूमिका निभाएका लोकप्रिय कलाकार केदार घिमिरे पनि सहभागी भएका थिए। उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो सिनेमा नै सफल भएकोमा खुसी व्यक्त गर्दै, आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए।
नयाँ पुस्ताका कलाकारहरूले आफ्नो पहिलो सिनेमा नै दर्शकको प्रेमले सफल बनाएको भन्दै आभार प्रकट गरे। उनीहरूले ‘होस्टेल ३’लाई आफूहरूका लागि ‘विश्वविद्यालय’ भएको बताउँदै यस सिनेमाबाट सिकेको अनुभव अमूल्य रहेको उल्लेख गरे।
निर्देशक सशान कँडेल, लेखक तथा एसोसियट निर्देशक माधव शर्मा र निर्माता कर्ण कार्कीले सिनेमालाई साथ र समर्थन गरेका दर्शक तथा पत्रकारहरूप्रति धन्यवाद व्यक्त गरे। ‘होस्टेल’ सिनेमा शृङ्खला नेपाली सिनेमा क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरूलाई स्थापित गर्ने सिनेमाका रूपमा चिनिन्छ। यसको तेस्रो श्रङ्खला ‘होस्टेल ३’ले पनि व्यापक सम्भावना बोकेका केही कलाकारलाई परिचित गराएको छ।

यस सिनेमामा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि सिनेमामा रहेका छन्।
सिनेमाका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन्।