‘के घर के डेरा’ मा घरभेटी को ? डेरावाल को ?

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा उद्योगमा ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ जस्ता सोसल ड्रामामा सफल सिनेमा दिएका निर्देशक दीपेन्द्र के खनालको नयाँ सिनेमा ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तयारीमा छ।

जेठ २ गतेदेखि प्रदर्शनमा आउने सिनेमाले घर र डेराको कथा भन्नेछ। घर र डेरोबीचको फरक बसाइले पारेको प्रभावको कथा भन्नेछ। घर र डेराका कारण समाजले जबरजस्त निर्धारण गर्ने सामाजिक हैसियतको कथाव्यथाबारे बोल्नेछ।

घर र डेरा कै कारण जतिसुकै उचनिच व्यवहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ, यसबारे पनि ‘के घर के डेरा : घर नं २’ ले भन्ने निर्देशक खनालले बताएका छन्।

घर र डेराको कथा भन्दा सिनेमामा को हो डेरावाल र को हो घरभेटी? सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन्। यी मध्ये सिनेमामा को घरभेटी र को डेरावाल हुन्?पोस्टरमा सबैको उस्तैउस्तै लुक्स छन्। तर, एउटा पोस्टरमा खगेन्द्र साइकल डोर्याइरहेका छन्। टिजरले पनि खगेन्द्रलाई दुखी पात्र देखाएको छ।

त्यसैले खगेन्द्र डेरावाल हुन् कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ। यदि उनी डेरावाल हुन् भने, घरभेटी आर्यन हुन् कि निश्चल — यसबारे निर्देशकले केही जानकारी दिएका छैनन्।

निर्देशक दीपेन्द्र के खनालले ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको बताए पनि कथा घर र डेराको रहेको बताउँछन्। सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो सिनेमा हो।

सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ। ‘के घर के डेरा : घर नं २’ का निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्।

सम्बन्धित समाचारसबै