‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक: वैशाख २६ बाट विश्वव्यापी प्रदर्शन

0 Shares

सिनेसुत्र, बिराटनगर- प्रतीक्षित नेपाली सिनेमा ‘ऊनको स्वीटर’ को ट्रेलर सार्वजनिक गरिएको छ। मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिकसँगै चर्चित गायक सुजन चापागाईँको ब्यान्ड ‘सुजन चापागाईँ एन्ड इन्फिनिटी’ ले भव्य कन्सर्ट प्रस्तुत गरेको थियो, जहाँ पत्रकार, कलाकार तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

आर्टमाण्डू प्रा.लि. को पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको यथार्थवादी सामाजिक कथानक सिनेमा हो। यसका निर्देशक नवीन चौहानले सिनेमाको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए। उनले सिनेमा बनाउने सपना बोकेको क्षणदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भए पनि त्यो सपना अब सयौँ जनाको बनेको बताए। “मैले एउटा सिनेमाको संसार बनाउने प्रयास गरेको हुँ। सुरुमा म एक्लैले देखेको सपना अब सयौँ जनाको भएको छ,” चौहानले भने।सिनेमामा मुख्य भूमिका निभाएका अभिनेता विपिन कार्कीले पाँचथरको यात्रालाई स्मरण गर्दै सबै पाँचथरे सहयोगीलाई धन्यवाद दिए। उनले आर्टमाण्डूका गीतहरू जस्तै यो सिनेमा पनि उत्कृष्ट बनेकोले दर्शकको मन जित्ने कुरामा विश्वास गर्न अनुरोध गरे। मुख्य अभिनेत्री मिरुना मगरले आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्वीटर’ जस्तै न्यानोपन दर्शकसम्म पुर्‍याउने प्रयास गरेको बताइन्। उनले यो सिनेमा हेरेपछि आर्टमाण्डूले सुरु गरेको सिनेमाको बेग्लै संसारमा पुगिने जनाइन्।

कलाकार भावना खपाङ्गी मगरले आफू सिनेमाका रङ्गीचङ्गी धागोहरूमध्ये एक धागो भएको महसुस गरेको बताइन्। कलाकार परीक्षा लिम्बूले एक वर्षपछि फेरि सिनेमाको प्रचारमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै निर्देशक चौहानको क्यानभासमा काम गर्न पाउनु आफूका लागि भाग्यको कुरा भएको बताइन्। कलाकार एलेक्स पारसले आफ्नो काम सबैसँग बसेर हेर्न पाउँदा आनन्द लागेको बताए भने सुरज तमुले यो सिनेमा आफूका लागि रमाइलो र महत्त्वपूर्ण यात्रा बनेको बताए।

सिनेमामा गीत निर्देशक रहेका सुजन चापागाईँले लामो यात्राको क्रममा दुःख र सुखसँगै धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँदै, दर्शकको माया पाएको गीत जस्तै सिनेमालाई पनि माया गरिदिन आग्रह गरे।

‘ऊनको स्वीटर’ मा विपिन, मिरुना, एलेक्स, परीक्षा, सुरज, भावना सँगै विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायत कलाकारको अभिनय रहेको छ। सुजन चापागाईँ र झुमा लिम्बुको संगीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो सिनेमाले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै कथामा गाँस्ने प्रयास गरेको छ। ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै