सिनेसुत्र, बिराटनगर- मे २५ मा इन्टरनेशनल सिनेमा फेस्टिभल आयोजना हुने भएको छ । जापानमा नेपाली सिनेमा वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल सिनेमा फेस्टिभल २०२५’ आयोजना गर्न लागेको हो। आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेसनमा परेको लिस्टहरू समेत सार्वजनिक गरेको छ। फेस्टिभलमा एक्सन विधामा सिनेमा ‘पिताम्बर’बाट ३ जना नोमिनेसनमा परेका छन्। यसै सिनेमाबाट बेस्ट एक्टरमा सौगात मल्ल, ब्रेक थ्रु पर्फमेन्समा अनुपविक्रम शाही र बेस्ट निर्देशकमा कृषा चौलागाई नोमिनेसनमा परेका छन्।
त्यस्तै ड्रामा विधामार्फत सिनेमा ‘तेल भिसा’बाट अभिनेता विपिन कार्की छनोट भएका छन् भने अभिनेत्री वर्षा राउत बेस्ट एक्ट्रेसमा नोमिनेसनमा परेकी छन्। ‘रंगी’बाट सलोन बस्नेत बेस्ट एक्टरमा नोमिनेसनमा परेका छन् भने यसै सिनेमामार्फत ड्रामा विधामा उत्कृष्ट सिनेमाको नोमिनेसनमा परेको छ।
फेस्टिभलमा विभिन्न देशका सिनेमाहरू समावेश हुनेछन्। आयोजक युना इन्टरटेन्मेन्टले जापानमा नेपाली सिनेमा वितरण गर्दै आएको छ। युना इन्टरटेन्मेन्टका प्रमुख उज्ज्वल गुरागाईंले फेस्टिभलको बारेमा जानकारी दिँदै भने, ‘नेपाली सिनेमाको बजारलाई अझ विस्तार गर्नका लागि यो फेस्टिभलको आयोजना गरिएको हो। यसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सघाउने छ भन्नेमा विश्वास हाम्रो टिमले लिएको छ।’
उनले थपे, ‘नेपाली सिनेमालाई जापानजस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा सम्मानका साथ पुर्याउन पाउनु हाम्रो गौरव हो। यो केवल सुरुवात हो। हामी नेपाली कथालाई विश्वव्यापी बनाउन अझै दृढ अडानका साथ अगाडि बढ्नेछौं। नेपाली सिनेमाप्रेमीहरूको साथ, विश्वास र मायाले नै आज हामी यो मुकामसम्म पुगेका हौं।’
उनका अनुसार यो फेस्टिभल नेपाली सिनेमाहरूको ऐतिहासिक सफलता हुनेछ। जापानमा नेपाली सिनेमा प्रदर्शन तथा प्रचारप्रसारको जिम्मेवारी युना इन्टरटेन्मेन्ट र उज्ज्वल गुरागाईंको नेतृत्वले गर्दै आएको छ। यस फेस्टिभलको पुरस्कार वितरण समारोह आगामी मे २५, २०२५, साँझ ५ बजे, जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन (मुख्य थिएटर आओइ), नागोयामा गरिने छ।
