सिनेसुत्र, बिराटनगर- साउन २३ गतेबाट रिलिज हुने सिनेमाको फस्टलुक सार्वजनिक गरेको छ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘मोहर’को फस्टलुक यसको निर्माणपक्षले सार्वजनिक गरेको छ। सार्वजनिक पोष्टरमा सिनेमाका मुख्य कलाकारहरूलाई स्थान दिइएको छ।
सार्वजनिक पोष्टरमा सिनेमाका मुख्य नायक पल शाह र नायिकाद्वय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ। यस्तै, अर्का कलाकार अर्जुन जंग शाहीलाई पनि पोष्टरमा देख्न सकिन्छ। पोष्टरमा पल शाह केही रिसाएको अनुहारसहित कतै हेरेको देख्न सकिन्छ। बेनिशाको अनुहारमा डरको भाव छ भने नीति हर्षित मुद्रामा देखिन्छिन्।
सिनेमाको पोष्टरमा यसको नाम र लोगो ठूलो रूपमा देखाइएको छ। यो सिनेमामा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि अभिनय छ। ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाका निर्माता चुम्बन जंग शाही हुन्। सिनेमा मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यस सिनेमामा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस सिनेमामा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ। लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेको यस सिनेमाको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको हो।
‘मोहर’को पोष्टर सार्वजनिक भएसँगै दर्शकहरूमा अझ उत्साह र आशा बढने देखिन्छ।
