गुलाबी चश्मामा बाख्रो : सिनेमा ‘जन्ते बाख्रो’को पोस्टर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी जेठ २३ मा प्रदर्शन हुने सिनेमा ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक गरिएको छ। हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको यो पोस्टरमा सिनेमाका सम्पूर्ण मुख्य कलाकार फिचर्ड छन्। पोस्टरमा धेरै कलाकारहरू देखिन्छन्, सबैभन्दा अगाडि एउटा बाख्रो छ, जसले गुलाबी रङको चश्मा लगाएको छ। सार्वजनिक पोस्टरलाई रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले तयार पारेको हो।

पोस्टरमा देखिएका पात्रहरूकै हाउभाउले सिनेमामा रोमाञ्चक कथा र हास्यपूर्ण ट्विस्ट हुने संकेत गर्छ। सार्वजनिक पोस्टरमा अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारहरू देखिएका छन्। पोस्टरमा बाख्रोलाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा केही रहस्यात्मक र हास्यपूर्ण मोड हुने संकेत गर्छ।सिमोश सुनुवारको निर्देशनमा तयार भएको सिनेमा ‘जन्ते बाख्रो’ मा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। यसको सार्वजनिक गरिएको दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाइसकेका छन्।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको सिनेमा ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ। सन्तोष गौतमको निर्माणमा तयार भएको सिनेमालाई प्रदीप भारद्वाजले लेखेका हुन्। नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ, सिनेमाको कथा यसै प्रचलनमा आधारित छ।

सिनेमामा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।

सम्बन्धित समाचारसबै