२३ घण्टामा ‘के घर के डेरा : घर नं २’ को ट्रलेरलाई १० लाख भ्युज प्राप्त

0 Shares

सिनेसुत्र, बिराटनगर- दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा : घर नं २’को ट्रेलरले दर्शकको साथ पाएको छ । दर्शकले ट्रेलर मन पराउँदा युट्युबमा उच्च भ्युज पाएको छ । २३ घण्टामा ट्रेलरलाई १० लाख भ्युज प्राप्त भएको छ । साढे तीन सय कमेन्ट र ११ हजार लाइक आएको छ । पछिल्लो समय अधिकांश सिनेमाका ट्रेलर र टिजरलाई २४ घण्टामा १० लाख भ्युज बटुल्न मुस्किल हुने गरेको छ ।

शुक्रबार सार्वजनिक ट्रेलरले २४ घण्टा नपुग्दै युट्युबमा १० लाख भ्युज कटाएको हो । यसले ‘के घर के डेरा : घर नं २’ प्रति दर्शकको चासो देखिएको पुष्टि भएको निर्माणपक्षले बताएको छ ।

“हामीलाई ट्रेलरमार्फत जसरी दर्शकले माया दर्शाउनु भएको छ, यस्तै माया हलमा सिनेमाले पनि पाउने अपेक्षा गरेका छौँ,” निर्देशक खनालले भने । सिनेमा राम्रो बनेको र राम्रो टिमले मेहनत गरेकाले सिनेमाले दर्शकलाई निराश नबनाउने उनको भनाइ छ ।

शुक्रबार रिलिज भएको ‘के घर के डेरा : घर नं २’ को ट्रेलरमा घर र डेराबीचको अन्तर छ । घर मोहले निम्त्याएको समस्या, घर नै सबैथोक हो र प्रतिष्ठाको एकमात्र मुख्य प्रतीक हो भन्ने अहिलेको यथार्थलाई देखाइएको छ ।घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरले देखाएको छ । घर मोहले बिग्रिएको आर्थिक कारोबार र परिवारलाई ट्रेलरमा प्रष्टसँग देखाएको ट्रेलरलाई दर्शकले साथ दिएका हुन् ।

‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ जस्ता सफल सोसल ड्रामामा सिनेमा दिएका निर्देशक खनालको सिनेमा ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

‘के घर के डेरा : घर नं २’ को कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । उनको यो पहिलो सिनेमा हो । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको सिनेमामा गेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सज्जन श्रेष्ठ, गौरव विष्ट, शंकर आचार्य, रुविना घिमिरे (बाल कलाकार) लगायतको अभिनय छ ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’ का निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । ट्रेलर हेर्नुहोस : 

सम्बन्धित समाचारसबै