सिनेसुत्र, बिराटनगर- प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जार’ का प्रमुख अभिनेता अनुपविक्रम शाहीले यो सिनेमा को हिस्सा बन्न पाउनु आफ्नो करियरको ठूलो उपलब्धि रहेको बताएका छन्। सिनेमाको प्रचारप्रसारको क्रममा भारतको दार्जिलिङ पुगेका शाहीले स्थानीय पत्रकारहरूसँग कुरा गर्दै इन्द्रबहादुर राईद्वारा लिखित नेपाली समाजको ऐतिहासिक कृतिमाथि आधारित सिनेमामा अभिनय गर्न पाउनु नै आफ्नो लागि गर्वको कुरा रहेको बताए।
“यो सिनेमा मेरो लागि थप विशेष छ, मैले विगतमा गर्दै आएको पात्रबाट बाहिर निस्केर यो पटक बिलकुलै फरक पात्रलाई बोकेको छु,” उनले भने, “‘जार’ को हर्षजीत पात्रमा तयार हुन मैले अन्य सिनेमामा भन्दा १० गुणा बढी मेहनत गरेको छु।” सिक्किम र दार्जिलिङका स्थानीय दर्शकसँग नजिकबाट साक्षात्कार गर्न पाउँदा खुशी लागेको बताउँदै उनले गोर्खाली पुर्खाको वास्तविक विगतलाई नजिकबाट थाहा पाउन ‘जार’ उपयुक्त विकल्प रहेको बताए।
निर्देशक फुर्वाछिरिङ लामाले ‘जार’ ले सयौँ वर्ष पुरानो गोर्खाली समाजको कथा बोलेको भन्दै गोर्खाली नयाँ पुस्तालाई नै आफ्नो सिनेमा समर्पित गरिएकोले हेरेर साथ दिन आग्रह गरे। “यो सिनेमा हामीले गोर्खालीकै लागि तयार गरेका हौँ, आइबी राईज्यूको कथालाई जस्ताको तस्तै पर्दामा उतार्ने कोशिश गरेका छौँ,” उनले भने।
कार्यकारी निर्माता ज्योति क्षेत्रीले एउटा उत्कृष्ट सिनेमा तयार गर्न लगानीमा कुनै सम्झौता नगरिएको बताइन्। सिक्किम प्रिमियरमा प्राप्त दर्शक समीक्षाले उत्साहित बनाएको बताउँदै निर्माता क्षेत्रीले यही मे ९ (वैशाख २६) बाट सिनेमा प्रदर्शनमा आउँदा सिक्किम, दार्जिलिङ र नेपाल सबै ठाउँका दर्शकबाट साथ र माया पाउने विश्वास व्यक्त गरिन्। यस सिनेमामा अनुपविक्रमसँगै सौगात मल्ल र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको प्रमुख अभिनय छ। जार ट्रेलर हेर्नुहोस :