सिनेसुत्र, बिराटनगर- गत वर्ष रिलिजमा आएको सिनेमा ‘दान्भी’का निर्देशक रुपेश तामाङ नयाँ सिनेमा निर्माणको दौडमा लागेका छन्। यसपटक, मल्टिस्टारर कलाकार लिएर एक्सन सिनेमा बनाउने तयारी उनको छ। यसका लागि कलाकारहरूलाई फाइनल गर्ने काम पनि धमाधम चलिरहेको छ।
यसैबीच, यो सिनेमामा नायिका पूजा शर्मा फाइनल भएकी छिन्। रुपेशले पूजालाई उनकै जन्मदिनको दिनमा अनुबन्धित गरेका हुन्। सिनेमामा पूजा फाइनल भएपछि रुपेश भन्छन्– ‘मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौँ। यसपटक अघिल्ला सिनेमामा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोशिश गर्नेछु।’
नायिका शर्माले पनि फेरि एकपटक आफू एक्सन भूमिकामा देखिन लागेको भन्दै खुशी व्यक्त गरिन्। उनले भनिन्– ‘दान्भीको एक्सनलाई दर्शकले रुचाउनु भएको थियो। यसैले, मलाई एक्सन सिनेमामा फेरि काम गर्न मन थियो। रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ।’
निर्देशक रुपेशका अनुसार, यसपटक सिनेमामा कलाकारहरू सरप्राइज हुनेछन्। सिनेमाको नाम तय गरिएको छैन। केही दिनमै सिनेमाको नाम विकास बोर्डमा दर्ता गरेरपछि सार्वजनिक गर्ने रुपेशले बताए। सिनेमालाई सुमन गजमेरले लेखिरहेका छन्। केही महिनापछि सिनेमाको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ।
