‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक : दयाहाङ–खगेन्द्रको नृत्य , निश्चल र अस्मिताको स्वर

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी जेठ १५ गते रिलिज हुने नेपाली सिनेमा ‘महाभोज’को प्रतीक्षित गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ। आइतबार आयोजित एक समारोहकाबीच गीत सार्वजनिक गरिएको हो, जहाँ सिनेमा युनिटका सदस्यहरू र पत्रकारहरूको बाक्लो उपस्थिति थियो।

चर्चित निर्देशक तथा अभिनेता समेत रहेका निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘लालुमै’ गीतमा हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको सङ्गीत, पुष्कर खत्रीको एरेञ्ज र केतन क्षेत्रीकै रेकर्ड प्रोडक्सन रहेको छ। यसको भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ। कोरियोग्राफर सुनिल क्षेत्रीले गीतलाई रमाइलो र आकर्षक शैलीमा सजाएका छन्। गीतमा मोडल कमल सिंहले मलिका महतसँग बिहे गर्दै गरेको भूमिकामा विशेष उपस्थिति जनाएका छन्।

गीतको भिडियो मलिकाको बिहे समारोहको परिवेशमा आधारित छ, जहाँ परिवार, साथीभाइ र गाउँलेको रमाइलो माहौल झल्किएको छ।गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले ‘महाभोज’ले नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने बताए। कार्यक्रममा उपस्थित कलाकारहरूले सिनेमा तथा गीत छायाङ्कनका अनुभव प्रस्तुत गरे। विशेष गरी दयाहाङ र खगेन्द्रले आफूहरू नृत्यकार नभएता पनि ‘महाभोज’का गीतहरूमा नृत्य गरेको बताए।

यस गीतमा स्वर दिएका तथा नृत्य गरेका निश्चलले निर्देशक दिनेश राउतसँगको पुनः सहकार्य उत्साहजनक रहेको बताए। सन् २०१२ मा एकै वर्ष सिनेमा निर्देशन सुरु गरेका निश्चल र दिनेशले यसअघि सन् २०१७ मा दिनेश निर्देशित सिनेमा ‘पर्व’मा सहकार्य गरेका थिए। सो सिनेमाको चर्चित गीत ‘काले दाइ’मा निश्चलले स्वर दिएका थिए भने नृत्य समेत गरेका थिए।सिनेमा ‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो। ‘महाभोज’ एकै दिन नेपालसहित विभिन्न देशहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ। यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ। सिनेमाका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन्। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै