नेपाली सिनेमा ‘जार’को काठमाडौंमा भव्य प्रिमियर सम्पन्न: कलाकार देखि नेता सम्मले गरे प्रशंसा

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली भाषीहरुको बाहुल्यता रहेको भारतका दुई सहर सिक्किम र सिलिगुडी प्रिमियरपछि मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा सिनेमा ‘जार’को ग्रयाण्ड प्रिमिएर सम्पन्न भएको हो।

मगर समुदायको संस्कृति झल्किने नृत्यसहित सुरु भएको प्रिमियरमा पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई, ललितपुरका सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, नेतृ हिसिला यमी, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, निर्देशक प्रदिप भट्टराई, ज्ञानेन्द्र देउजा, दिपेन्द्र लामा, नवल नेपाल लगायत साहित्यकार र पत्रकारहरूको ठूलो उपस्थिति रहेको थियो।

सिनेमा हेरेपछि अधिकांशले ‘जार’को तारिफ गरेका छन्। संस्कृति, संस्कार र बहादुरीको कथा झल्काउने सिनेमाले प्रेम र वीरता पनि प्रस्तुत गरेको भन्दै प्रशंसा गरिएको छ। सिनेमामा प्रयोग गरिएको भीएफएक्स र गीतसंगीतको खुलेर प्रशंसा गरिएको छ।

डा. भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो परिवेशको सिनेमा ‘जार’ पूर्ण मौलिक भएको बताउँदै त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न अहिलेको पुस्ताले यो सिनेमा हेर्नु पर्ने सुझाव दिए।उनले भने, “पाठकले रुचाएको कथालाई निर्देशकले उही मर्ममा कलात्मक शैलीले प्रस्तुत गर्नुभएको छ। नयाँ पुस्ताले नेपालको इतिहास बुझ्नका लागि पनि सिनेमा ‘जार’ हेर्नुपर्छ भन्ने मलाई लागेको छ। आफूले आईएसीमा पढेको इन्द्रबहादुर राईको जार कथालाई आज सिनेमा रूपमा हेर्न पाउँदा निकै आनन्द आयो।”

सिनेमाकी गायिका तथा संगीतकार झुमा लिम्बुको गीतसंगीतको पनि डा. भट्टराईले खुलेर प्रशंसा गरे। साथै उनले यो सिनेमा राज्यले कर छुट दिनु पर्ने बताए। ललितपुरका सांसद उदय शमशेर जबराले ‘जार’ आफूलाई फरक र पूर्ण मौलिक सिनेमा लागेको बताए। राम्रो सिनेमा निर्माणको उदाहरण भएको भन्दै उनले टिमलाई बधाई दिए र दर्शकहरूलाई हेर्न आग्रह गरे।

अभिनेत्री मनिषा कोइरालाले ‘जार’ नेपाली सिनेमा स्तर उकास्ने सिनेमा भएको बताइन्। उनले भनिन्, “हामीले पछिल्लो समय उत्कृष्ट सिनेमा दिएका छौं र ‘जार’ त्यसैको निरन्तरता हो। यसले हाम्रो इतिहास र साहित्यलाई सिनेमा माध्यमबाट जीवन्त बनाएको छ।”

अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली सिनेमा विकासमा एक महत्वपूर्ण पाइला भएको बताए भने अभिनेत्री केकी अधिकारीले निर्देशक फुर्वाछिरिङ लामाको आत्मविश्वासको प्रशंसा गरिन्।

नेतृ हिसिला यामीले सिनेमा ‘जार’ समसामयिक सन्दर्भमा सशक्त सिनेमा भएको बताउँदै सरकारमा रहेकाहरूले पनि हेर्नुपर्ने बताइन्।निर्देशक दिपेन्द्र लामाले ‘जार’ हेरेपछि निर्देशकको कलात्मकता र नेपाली सिनेमा नयाँ उचाइमा पुगेको बताए। उनले भने, “‘जार’ले नेपाली सिनेमा कलात्मक उचाइ अग्लो बनाएको छ। एउटा लोभलाग्दो र ईर्ष्यालाग्दो काम हो ‘जार’।”

प्रिमियरमा उपस्थितले निर्देशक लामा र कलाकारहरू सौगात मल्ल, अनुपविक्रम शाही तथा गीताञ्जली थापाको अभिनयको खुलेर प्रशंसा गरे।

अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्षदेखि कल्पना गरेको सिनेमामा काम गर्न पाउँदा खुसी लागेको बताए। त्यस्तै अनुपविक्रम शाहीले इतिहासलाई पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथमा विश्वास व्यक्त गरे।

१८०० को दशकको वास्तविक घटनामा आधारित यो सिनेमा आउँदो वैशाख २६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।

‘जार’ २२५ वर्ष पुरानो कथामा आधारित सिनेमा हो। इन्द्रबहादुर राईको कथामा आधारित यस सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन्।

फेरि टेल पिक्चर्सले निर्माण गरेको सिनेमा सामाजिक विषयमा भए पनि सम्पूर्ण मनोरञ्जन प्याकेज भएको निर्देशकको दाबी छ।

मुख्य भूमिकामा सौगात मल्ल, अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापा छन्।होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको छायांकन सिक्किममा गरिएको हो।

सिनेमाका कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्।

सरवानन इलावार्सुको छायांकन रहेको सिनेमामा अखिलेश राईको सम्पादन छ। संगीत झुमा लिम्बू र गंगा थापाको रहेको छ।

सिनेमा नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकैसाथ प्रदर्शनमा आउने निर्माण टिमले जानकारी दिएको छ। नेपालमा एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ। तस्बिरहरु:

सम्बन्धित समाचारसबै