‘मितज्यू’मा दयाहाङ र तेरियापछि स्मिता लामिछाने अनुबन्धित

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्ने सिनेमा ‘मितज्यू’ मा अभिनेत्री स्मिता लामिछाने आबद्ध भएकी छन्। उनलाई विशेष अवसरमा, अर्थात् जन्मदिनकै दिन सिनेमामा अनुबन्ध गरिएको हो।

मुख्य अभिनेत्रीको रूपमा ‘१२ सत्ताइस’ बाट नेपाली सिनेमा प्रवेश गरेकी लामिछानेले अभिनय तथा निर्माण दुवैमा सक्रियता देखाइरहेकी छन्। उनको निर्माण र अभिनय रहेको ‘आँखा’ गत असोजमा प्रदर्शनमा आएको थियो भने अर्को मुख्य भूमिका रहेको सिनेमा ‘म राजेश हमाल’ पनि प्रदर्शनको पर्खाइमा छ।गत वर्षको सफल सिनेमा ‘घरज्वाइँ’ निर्माण टिमले नै ‘मितज्यू’ निर्माण गर्दैछ। ‘घरज्वाइँ’ले ५१ दिनको व्यापार यात्रा सफलतापूर्वक पूरा गर्दै समीक्षक र दर्शक दुवैबाट प्रशंसा बटुलेको थियो। त्यसै टिमको नयाँ प्रस्तुतिका रूपमा आउन लागेको ‘मितज्यू’ को छायांकन आगामी मंसिरबाट सुरु हुने बताइएको छ।

पहिले नै अभिनेता दयाहाङ राई र तेरिया फौजा मगरलाई अनुबन्ध गरिसकेको सिनेमामा अब स्मिता लामिछानेको प्रवेशले मुख्य पात्रहरूको कास्ट अझ सशक्त बनेको छ।

जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको सहकार्यमा निर्माण हुन लागेको सिनेमा चैत २७ गते, नयाँ वर्षको अवसर पारेर रिलिज हुनेछ। सिनेमाको कथा महेश राईले लेखेका हुन् भने प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।

सम्बन्धित समाचारसबै