‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’: गरिन् परीक्षा र एलेक्सको प्रशंसा

0 Shares

सिनेसुत्र, बिराटनगर- आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली सिनेमा ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको छ। सिनेमामा समावेश यो गीतमा कलाकार परीक्षा लिम्बू र एलेक्स पारसले प्रस्तुत गरेको प्रभावशाली नृत्यसँगै वरिष्ठ कलाकार दिलीप रायमाझी र निरुता सिंहप्रति सम्मान व्यक्त गरिएको छ।

गीत रिलिज भएको केही समयमै दर्शकमाझ लोकप्रिय बन्न थालेको छ भने यसले सिनेमाप्रति दर्शकको उत्साह अझै बढाएको देखिएको छ। एक समय नेपाली सिनेमा क्षेत्रमा आफ्नो राज जमाएकी अभिनेत्री निरुता सिंहले पनि उक्त गीतमा देखिएको कलाकार द्वयको प्रस्तुतिको खुलेर प्रशंसा गरेकी छन्।

भारतको मुम्बईमा रहेकी सिंहले कलाकार परीक्षा लिम्बू र एलेक्स पारससँग टेलिफोन संवादमा भिडियो आफूलाई अत्यन्त मन परेको जनाइन्। उनले परीक्षाको नृत्य देख्दा आफू त्यही क्षणमा फर्किएको महसुस भएको बताउँदै, युवा कलाकारहरूले आफूलाई गीत समर्पण गरेकोमा आभार प्रकट गरिन्। एलेक्स पारसको नृत्यले दिलीप रायमाझीको झल्को दिएको उनले उल्लेख गरिन्।गीतको भिडियोमा परीक्षा र एलेक्सलाई सन् २००१ मा सार्वजनिक भएको सुपरहिट फिल्म ‘दर्पण छाया’ को झल्को दिने शैलीमा प्रस्तुत गरिएको छ। विशेषतः नृत्यको हुकस्टेप पनि त्यही फिल्मको चर्चित गीत ‘त्यो डाँडा पारी’ सँग मेल खाने खालको राखिएको छ। सिनेमामा एलेक्स पारसले दिलीप रायमाझीको प्रशंसकको भूमिका निर्वाह गरेका छन्।

यसैबीच, बुद्ध जयन्तीको अवसरमा परेको सोमबारको सार्वजनिक बिदाको दिन ‘ऊनको स्वीटर’ ले देशभर व्यापक दर्शक आकर्षण गरेको छ। अधिकांश हलमा सिनेमाका शो हाउसफुल देखिएका छन्।शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको सिनेमाले आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो गरिरहेको र सोमवार थप शो प्राप्त गरेको वितरक गोविन्द शाहीले जनाएका छन्। सोमबारको बिदाका लागि देशभर थप शोहरू तोकिएको र सिनेमाको व्यापार अझ आक्रामक भएको छ। सिनेमाको ट्रेलरले पनि युट्युब ट्रेन्डिङमा पहिलो स्थान ओगटेको छ।

नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको सिनेमामा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ। ट्रेलर, टिजर र गीतहरूको सकारात्मक प्रभावले गर्दा ‘ऊनको स्वीटर’ अहिले नेपाली बक्स अफिसमा चर्चा र सफलता दुवैले सुशोभित भइरहेको छ। 

सम्बन्धित समाचारसबै