‘महाभोज’ प्रचार कि प्रतिरोध? मध्यरातमा कलाकारहरूको स्ट्याटसले जन्मायो प्रश्न

0 Shares

सिनेसुत्र, बिराटनगर- मङ्गलवार अबेर राति अचानक सामाजिक सञ्जाल तात्यो। नेपाली सिनेमा उद्योगसँग जोडिएका दर्शक, समर्थक र पत्रकारहरूले एकै प्रकारको स्ट्याटस देखे – ‘सत्य कहिल्यै लुक्दैन।’ यो वाक्यांश लेख्नेहरू अरू कोही होइनन्, यही जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित सिनेमा ‘महाभोज’ का निर्देशक र कलाकारहरू थिए। निर्देशक दिनेश राउत, अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतले एकै समयमा उक्त वाक्यांश लेखेपछि सामाजिक सञ्जालमा अनेक अड्कलबाजी हुन थाले।

के यो सिनेमा को प्रचार रणनीतिको हिस्सा हो? कि फिल्मसँग जोडिएको कुनै गहिरो सत्यले मिडियामा पुग्नुअघि कलाकारहरूले जनतालाई सङ्केत गरेका हुन्?

सिनेमा ‘महाभोज’ सहकारी ठगी प्रकरणमा आधारित कथा हो। यही सन्दर्भमा प्रमुख अभिनेता दयाहाङ राईले भनेका छन्, “नेपालमा आर्थिक क्रान्तिको सपना बोकेर सहकारीहरू स्थापना भए, तर त्यसकै पहुँचमा रहेका केही व्यक्तिले सर्वसाधारणको गाढा पसिनाको पैसा लुटे। ‘महाभोज’ त केवल फिल्म होइन, एक यथार्थ प्रश्न हो।” यसै कथनबाट सङ्केत पाइन्छ कि सिनेमा कुनै काल्पनिक कथा होइन, बरु समाजको गहिरो पीडा बोकेको अभिव्यक्ति हो।‘सत्य कहिल्यै लुक्दैन’ भन्ने यो साझा स्ट्याटसलाई कतिपयले सहकारी पीडितहरूको पक्षमा कलाकारहरूको ऐक्यबद्धताको रूपमा बुझेका छन्। सिनेमामा देखिएको कथावस्तु कतै यति संवेदनशील त होइन, जसले ठुला व्यक्तित्व वा संस्थाहरूको अनुहार देखाउने हो? किनकि कलाकारहरूको स्ट्याटसमा कुनै नाम वा आरोप खुलाइएको छैन, तर वाक्य आफैँले धेरै कुरा बोलिरहेको छ।

‘महाभोज’को कथा, निर्देशन, कलाकारहरू र कथनहरूलाई हेर्दा यस्तो आभास हुन्छ – यो सिनेमा ले पर्दामा मात्र होइन, पर्दा पछाडिको सत्यलाई पनि उजागर गर्ने प्रयास गरेको छ। त्यही सत्य, जसलाई धेरैले दबाउन खोजे। तर कलाकारहरूको एक स्वरले भनिदियो – ‘सत्य कहिल्यै लुक्दैन।’

अब त्यो सत्य के हो? के सिनेमाले कुनै यथार्थ घटना खोल्न लागेको छ? के कसैले सिनेमा माथि दबाब दिने प्रयास गरिरहेको छ? वा के फिल्मले केही यस्ता कुराहरू उजागर गर्छ, जसले ठुलाबडाहरूलाई असहज बनाउन सक्छ?

यी सबै प्रश्नको उत्तर अब एकै छ – ‘महाभोज’ हेरेपछि थाहा हुनेछ।

तर अहिलेलाई यत्ति भन्न सकिन्छ – नेपाली सिनेमा को पर्दा पछाडि केही चलिरहेको छ, जुन पर्दामा ‘सत्य’ को रूपमा छर्लङ्ग हुनेवाला छ।

सम्बन्धित समाचारसबै