विदेशी बजारमा बढ्दो माग: ‘नरसिंहाः अवतार’ को अष्ट्रेलिया अधिकार विक्री

0 Shares

सिनेसुत्र, बिराटनगर- जेठ ९ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘नरसिंहाः अवतार’ को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप ह्वात्तै बढेको छ। सिनेमाको ट्रेलरले हाइप बनाएसँगै नेपाली बजारमा त यसको प्रतिक्षा छ नै, विदेशी बजारमा पनि माग चुलिएको छ।

सिनेमाका लेखक तथा निर्देशक दिवाकर भट्टराइले विदेशबाट सिनेमाको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताए। यसैबीच, नेपाली सिनेमाका लागि सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियामा यो सिनेमाको रिलिज अधिकार विक्री भएको छ।

यो सिनेमाको अष्ट्रेलिया विक्री अधिकार बीआई इभेन्ट्स ले खरिद गरेको हो। सिनेमालाई कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन। बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्– “महानायक राजेश हमालको क्रेज र सिनेमाको चर्चा अष्ट्रेलियामा खुबै छ।यसैले, दर्शकहरूको मागलाई ध्यानमा राखेर हामीले यो सिनेमाको अष्ट्रेलिया अधिकार खरिद गरेका हौं। आशा छ, सिनेमाले अष्ट्रेलियाका दर्शकहरूको मन जित्नेछ।”

वर्षा ‘द भ्वाइस अफ नेपाल’ मा सहभागी भइसकेकी गायिका समेत हुन्। वर्षाले नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा सिनेमा रिलिज हुने जानकारी दिइन्।

नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने को लगानीमा तयार भएको यो सिनेमामा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजीव जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ।

सिनेमाले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै