‘के घर के डेरा : घर नं २’को अग्रिम बुकिङ खुला: क्यूएफएक्समा मात्रै ४७ शो पक्का

0 Shares

सिनेसुत्र, बिराटनगर- ‘के घर के डेरा : घर नं २’को अग्रिम बुकिङ खुला भएको छ । जेठ २ गते रिलिज हुने सिनेमाको मंगलबार साँझदेखि अग्रिम बुकिङ खुला भएको हो । सिनेमाले उच्च शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २५ शो पाएको छ । काठमाडौं उपत्यका बाहिर २२ शो पाएको छ । क्यूएफएक्सका आउटलेटमा ४७ शो पाएको छ ।

आइएनआईले आफ्ना चारवटा आउटलेटमा १५ शो दिएको छ । वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार शो दिएको छ । एफक्यूबले चार शो उपलब्ध गराएको छ ।

यस्तै हाराहारीमा अन्य मल्टिप्लेक्सले ‘के घर के डेरा : घर नं २’लाई शो उपलब्ध गराएका छन् । सिनेमा वितरक करण श्रेष्ठका अनुसार केही हलहरूले शो खोल्ने बाँकी रहेको जानकारी दिए । उनका अनुसार आज र भोलि बिहान सम्ममा देशभरका हलहरूको शो यकिन तथ्यांक आउने बताए ।दीपेन्द्र के खनालले निर्देशन गरेको सिनेमा ‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । राम्रो हाइप बनाएको सिनेमाले आक्रामक ब्यापार गर्ने निर्माणपक्षको विश्वास छ ।

सिनेमामा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो । सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।सिनेमा ‘के घर के डेरा : घर नं २’ले घर र डेराको कथा भन्छ । घर नहुनेहरूले घर बनाउन देख्ने सपना र घर हुनेहरूको दुःख यो सिनेमाले भन्दैछ । यही कथाको वरिपरि सिनेमा रहेको ट्रेलरले बताइसकेको छ । काठमाडौंको खाल्डोमा पसिसकेपछि कुनै मध्यम बर्गिय परिवारको त्यस्तो व्यक्ति कोही छैन होला जसले यहाँ आफ्नै घर बनाउने सपना नदेखेको होस् ।

घर र डेराबीचको अन्तरले पटकपटक जिन्दगीलाई हिर्काएको पीडाबाट छुटकारा पाउन हरेक व्यक्ति काठमाडौंमा आफ्नै घर होस् भन्ने सपना पाल्छ ,र त्यही सपना पूरा गर्न अथक मेहनत गर्छ । जागिर, व्यापार सबै गर्छ । पैसाकै पछाडि दौडिदा धाकधम्की, दुई नम्बरी अनेक गर्ने मान्छेसँग भेट हुन्छ । सुरुमा प्रलोभन पछि धम्की र परिवन्ध । यसकै चक्करमा जिन्दगी फसेपछि कसरी बन्छ नयाँ घर, कसरी रहन्छ बनाएको घर ? यही कथाको वरिपरि सिनेमा रहेको अनुमान लगाउन सकिन्छ । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै