‘के घर के डेरा : घर नं २’को मार्मिक गीत ‘ढुंगा देउता भयो’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘के घर के डेरा : घर नं २’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले सिनेमा रिलिजको केही घण्टा अगाडि ‘ढुंगा देउता भयो’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा बुद्धिसागरको शब्दरचना रहेको छ । संगीत निश्चल बस्नेतको छ । सलिन मगरको स्वर रहेको छ ।

सिनेमाको कथा भन्ने गीत शान्त तर अर्थपूर्ण कुरा गर्छ । संघर्ष र चोटहरूले नै व्यक्तिलाई बलियो बनाउने बिम्बका रूपमा ढुंगा र देउतालाई ल्याइएको छ । काव्यात्मक गीतले सिनेमा‌को स्तर झल्काउँछ ।सपना नै जिन्दगी जिउने आधार बन्ने यथार्थलाई गीतले उजागर गरेको छ । गीतको भिडियोमा मुख्य कलाकार केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र लेखक बुद्धिसागर फिचर्ड छन् ।

‘के घर के डेरा : घर नं २’ जेठ २ गते (शुक्रबार) रिलिज हुँदैछ । सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । उनको यो पहिलो स्क्रिप्ट हो । दीपेन्द्र के. खनालले निर्देशन गरेका छन् ।सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।

सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै