प्रदर्शनरत सिनेमा ‘जार’ अब अमेरिका सहित विभिन्न देशमा एकसाथ रिलिज

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाल र भारतमा गत शुक्रवारबाट प्रदर्शनमा आएको सिनेमा ‘जार’ ले मध्यपूर्वका देशहरूमा (मे १५) बिहीबारबाट एकसाथ प्रदर्शन थालनी गरेको छ। निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारबाट सिनेमा प्रदर्शन शुभारम्भ भएको जानकारी गराएको छ।

निर्देशक फुर्वाछिरिङ लामाले युएईका सहरहरू दुबई, अवुधाबी, अज्मान र सारजाहका स्थानीय हलहरूमा सिनेमा प्रदर्शनमा आएको बताए। यस्तै कतारको दोहा, बहराइनको मनामा लगायतका सहरहरूमा ‘जार’ एकसाथ प्रदर्शनीमा आएको हो।शुक्रवारबाट यो सिनेमा युएसए, युके, अष्ट्रेलिया, क्यानडा, साउथ अफ्रिकासँगै युरो पका विभिन्न देशहरूमा प्रदर्शन तय भएको निर्देशक लामाले बताए। नेपाल र भारतमा हाम्रो सिनेमा हेर्ने जति पनि दर्शक हुनुहुन्छ, उहाँहरू र सिनेमा समीक्षकहरूबाट प्राप्त प्रतिक्रियाले उत्साहित छौँ, लामाले भने, “डायस्पोरामा रहनुभएका नेपाली कला प्रेमीहरूबाट पनि सोही प्रकारको प्रेम र सद्भावको अपेक्षा छ।”

यो सिनेमाले सार्वजनिक प्रदर्शनयता नेपाल र भारतमा उत्कृष्ट समीक्षा पाएको छ। वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित सिनेमाले २ सय वर्ष पुरानो नेपाली समाजको वास्तविक कथा बोल्छ।सिनेमामा अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख अभिनयमा छन्। होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको छायांकन सिक्किममा गरिएको छ।

सिनेमा ‘जार’ का कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। सरवानन इलावार्सुको छायांकन रहेको सिनेमामा अखिलेश राईको सम्पादन छ। सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ। सिनेमा ‘जार’ नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेको छ।

सम्बन्धित समाचारसबै