रिलिजको पहिलो दिनमै ‘के घर के डेरा : घर नं २’ ले पायो दर्शकको साथ: बलियो वर्ड अफ माउथ

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘के घर के डेरा : घर नं २’ले राम्रो वर्ड अफ माउथ पाउन थालेको छ। आजबाट रिलिज भएको सिनेमाले सकारात्मक प्रतिक्रिया बटुल्न थालेको हो। “बिहानभन्दा बेलुकाका शोमा दर्शकको संख्या धेरै देखिन थालेको छ।

बिहानभन्दा बेलुका उच्च अकुपेन्सी देखिएको छ,” निर्देशक दीपेन्द्र के खनालले भने, “वर्ड अफ माउथ बलियो हुँदै गएको छ। हेर्नेजति दर्शकले सिनेमा राम्रो रहेको बताउनु भएको छ।”

कसरी जिन्दगी जिउने भन्ने सन्देश सिनेमामा रहेको र त्यही नै यसको सबैभन्दा राम्रो पक्ष रहेको भन्दै दर्शकले तारिफ गरिरहेको निर्देशक खनालले बताए। प्रिमियरमा हेर्ने दर्शकले जसरी सिनेमा मन पराएका थिए, त्यस्तै नियमित शोमा पनि सिनेमा मन पराइरहेको उनले बताए।“हाम्रो सिनेमाको सबैभन्दा सशक्त पब्लिसिटीको टुल्स नै दर्शकको प्रतिक्रिया हो,” निर्देशक खनालले भने, “हामीले जे विश्वास गरेका थियौँ, त्यस्तै भइरहेको छ। दर्शकबाटै हाम्रो सिनेमाको पब्लिसिटी भइरहेको छ।”

आफूसहितको निर्माण युनिटले राम्रो सिनेमा दर्शकलाई दिएको उनको भनाइ छ। “हाम्रो कर्तब्य दर्शकलाई राम्रो सिनेमा दिने हो, दियौँ,” उनले भने, “अब हामीलाई दर्शकको साथ चाहिएको छ। हेरेर जस्तो लाग्यो, त्यस्तै प्रतिक्रियाको अपेक्षा गरेका छौँ।”

सिनेमाको प्रिमियरमा १८० सर्वसाधारणलाई पास दिएर निर्माणपक्षले सिनेमा हेराएको थियो। यसरी हेर्ने दर्शकले सिनेमाको तारिफ गरेका थिए। मल्टीस्टार रहेको सिनेमा ‘के घर के डेरा : घर नं २’ आजबाट प्रदर्शनमा आएको छ। दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको सिनेमा उच्च शो र अपेक्षासहित आज हलमा आएको हो। ‘के घर के डेरा : घर नं २’ को कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन्।सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ।

सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ। ‘के घर के डेरा : घर नं २’ को कार्यकारी निर्माताका रूपमा युवराज कार्की छन्। निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

सम्बन्धित समाचारसबै