सिनेसुत्र, बिराटनगर- प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको सिनेमा ‘के घर के डेरा : घर नं २’ ले दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ। शनिबार देशभरका हलमा यो सिनेमा उच्च अकुपेन्सीमा चलेको छ। निर्माणपक्षका अनुसार शनिबार देशभरका हलमा ७० देखि ९० प्रतिशत अकुपेन्सीमा ‘के घर के डेरा : घर नं २’ चलेको छ।
अफ टाइमका शोमा पनि दर्शकको राम्रो साथ सिनेमाले पाएको छ। “आज ७० देखि ९० प्रतिशतसम्म दर्शकको अकुपेन्सी देखियो। हाम्रो सिनेमाको जनरा र विषय अनुसार दर्शकको साथ पाउँदै गएको छ,” निर्देशक दीपेन्द्र के खनालले भने।
सिनेमाको विषय र कलाकारको काम दर्शकले मन पराएको उनले बताए। निर्देशक खनाल भन्छन्, “कलाकारको काम र विषयको दर्शकले खुलेर तारिफ गर्नुभएको छ। सामाजिक कथावस्तुमा दर्शकको गहिरो रुचि छ भन्ने यसले पुष्टि गर्छ।”
सिनेमाको मुख्य पात्रमध्येका एक खगेन्द्र लामिछानेले दर्शकले देखाएको माया र गरेको प्रेमले आफूलाई थप उत्साहित बनाएको बताए। “दर्शकले पशुपतिप्रसादपछि कै सबैभन्दा राम्रो काम यो सिनेमा मा देखियो भन्नुभएको छ,” खगेन्द्र भन्छन्, “दोस्रो दिनबाटै आएको यो साथ र प्रेम हाम्रो टिमका लागि खुसीको कुरा हो।”
सिनेमाले उत्कृष्ट वर्ड अफ माउथ पाउँदै गएको छ। त्यसको प्रभाव हलमा देखिएको निर्देशक खनालले बताए। दीपेन्द्र के खनालको निर्देशन रहेको सिनेमा शुक्रबारबाट देशभरका हलमा प्रदर्शन भइरहेको छ। सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्।
सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय रहेको छ।
‘के घर के डेरा : घर नं २’ सिनेमा एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा : घर नं २’ को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।

