दुई एक्सन नायकसँग ‘राम नाम सत्य’मा पर्दा शेयर गर्दै नायिका दिव्या रायमाझी

0 Shares

सिनेसुत्र, बिराटनगर- नायिका दिव्या रायमाझीले नेपाली सिनेमा क्षेत्रका दुई एक्सन नायकहरूसँग पर्दा शेयर गर्ने भएकी छिन्। दिव्याले सिनेमा ‘राम नाम सत्य’ साइन गरेसँगै यो सम्भव भएको हो। माइकल चन्दको निर्देशनमा बन्न लागेको सिनेमा ‘राम नाम सत्य’ मा दिव्या फाइनल भएकी छिन्। दिव्या र सिनेमाको टिमबीच आइतबार कागजी सम्झौता भइसकेको छ।

सिनेमा साइन गरेपछि दिव्याले भनिन्–‘यो सिनेमाको कथा वेजोड छ। मेरो भूमिका पनि निकै मन पर्यो। जसकारण, सिनेमामा काम गर्न तयार भएकी हुँ।’ यो सिनेमामा यसअघि नै नायक विराज भट्ट र सुशील श्रेष्ठ फाइनल भइसकेका छन्। विराज र सुशीलसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाइ छ।सिनेमाको छायांकन साउनबाट सुरु गर्ने योजना निर्माणपक्षको छ। माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यो सिनेमामा माइकल चन्दकै लेखन छ। उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ सिनेमा निर्माता हुन्।

सिनेमामा डाक्टर डी.आर. उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रूपमा छन्। अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने सिनेमामा सुशन प्रजापतिको छायांकन रहने पक्का भइसकेको छ। अब, केही कलाकारहरू फाइनल गरेर वर्कशप सुरु गर्ने निर्माणपक्षको भनाइ छ। सिनेमालाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ।
सिनेमा ‘एक्टरः टेक वान’ बाट रजतपटमा डेब्यू गरेकी दिव्याको पछिल्लो रिलिज सिनेमा ‘पिताम्बर’ हो। दिव्या पछिल्लो पुस्ताकी सर्वाधिक माग भएकी नायिका समेत हुन्।

सम्बन्धित समाचारसबै