सिनेसुत्र, बिराटनगर- आगामी जेठ २३ मा प्रदर्शन हुने सिनेमा ‘जन्ते बाख्रो’ को तेस्रो गीत सार्वजनिक गरिएको छ। डिजिटल पार्टनर जी टूवान डिजिटलमार्फत आज सार्वजनिक गरिएको तेस्रो गीत ‘मुकु मुकु म्या’ यस सिनेमाको शिर्ष गीत हो। नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा सिनेमाका मुख्य पात्रहरू सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर्ड छन्।
सार्वजनिक गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको सङ्गीत रहेको छ। प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।
यो सिनेमा विशेषगरी विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने चलन अर्थात् ‘जन्ते बाख्रो’ खुवाउने परम्परामाथि आधारित रहेको निर्देशक सिमोश सुनुवारले बताएका छन्। सिनेमामा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। यसअगाडि सिनेमाका सार्वजनिक दुई गीत ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ लाई दर्शकले रुचाईसकेका छन्।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको सिनेमा ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ। सन्तोष गौतमको निर्माण रहेको सिनेमालाई प्रदीप भारद्वाजले लेखेका हुन्। यस सिनेमामा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको छ। टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ। सिनेमा आगामी जेठ २३ मा नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने निर्माण पक्षले जनाएका छन्। भिडियो हेर्नुहोस :