सिनेसुत्र, बिराटनगर- देशव्यापी प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित नेपाली सिनेमा ‘महाभोज’ को विशेष प्रिभ्यु शो मङ्गलवार साँझ काठमाडौंमा सम्पन्न भएको छ। सिनेमा रिलिजको अघिल्लो दिन आयोजित उक्त विशेष शोमा पत्रकार, सिनेमा युनिट तथा देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो।
प्रदर्शन अवधिभर हलमा सघन भावनात्मक माहौल देखिएको थियो। सहकारी पीडितहरूले सिनेमाले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए। सिनेमा प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, “राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ।”
उनीहरूले निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै सिनेमालाई देश–विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनु पर्ने धारणा राखे। उनीहरूको भनाइमा, ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको छ, जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ।
प्रदर्शनपछि पत्रकारहरूबाट पनि सिनेमाको विषयवस्तु र प्रस्तुतिलाई लिएर सकारात्मक प्रतिक्रिया आएको छ। सामाजिक यथार्थलाई कलात्मक ढङ्गमा चित्रण गर्न सकिएको भन्दै सिनेमाको प्रशंसा गरिएको छ। पत्रकारहरूले निर्देशक राउतको निर्देशकीय क्षमताको उच्च प्रशंसा गर्दै ‘महाभोज’ केवल सिनेमा मात्र नभई एक सशक्त सामाजिक दस्तावेज रहेको प्रतिक्रिया दिएका छन्।
यसैबीच, देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन हलहरूले ‘महाभोज’ को अग्रिम बुकिङ खुला गरिसकेका थिए। वितरकहरूका अनुसार यो सिनेमा करिब २ सय शो सहित नेपालभर प्रदर्शन हुने तयारीमा थियो।
तर, देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै निर्माता हिमाल कडरियाले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै सिनेमा ‘महाभोज’ को प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराएका छन्।
दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको ‘महाभोज’ सहकारी संस्था सम्बन्धी गम्भीर सामाजिक विषयमा आधारित सिनेमा हो। यसले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ। पीडितहरूको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेल सिनेमाको मूल कथा बन्छ। साथमा, सिनेमामा हास्यपाराका पाटाहरू समेटेर मनोरञ्जक पक्ष पनि कायम राखिएको छ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको ‘महाभोज’ नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत प्रदर्शनको तयारीमा थियो, जुन हालको स्थगनसँगै अर्को मितिमा सारिने अपेक्षा गरिएको छ।
