सिने सुत्र , बिराटनगर – ‘बेहुली फ्रम मेघौली’ सिनेमाको नयाँ गीत रिलिज भएको छ। असोज १७ गते रिलिज गरिएको ‘उडायो मन’ बोलको उक्त गीतलाइ जयन जे वाइवाले तयार पारेका हुन् । गीतको सङ्गीतसँगै शब्द र ऐरेन्ज पनि वाइवाकै हो। गीतमा इन्द्रकला राईको स्वर रहेको छ। उक्त सार्वजनिक ‘उडायो मन’ गीतको भिडियोको सुरुवात थारु भाषा बाट गरिएको छ |

सो गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुन लेखन अशोक थनेतले गरेका हुन् । गीतको भिडियोमा सिनेमाकी शीर्ष अभिनेत्री स्वस्तिमा खड्का मुख्यरुपमा फिचर भएकी छन् ।
उनका अलावा सिमरन खड्का तथा निश्चल बस्नेत फिचर भएका छन् । गीतको कोरियोग्राफी शेखर घर्ती मगरले गरेका हुन् ।
सिनेमामा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ । सिनेमामा केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।