सिनेसुत्र, बिराटनगर- रोहित अधिकारीको निर्माणमा तयार भइरहेको सिनेमा ‘माइतीघर’का लागि यसको शीर्ष गीतको छायांकन गरिएको छ। बाग्लुङको कालिका मन्दिरमा यो गीतको छायांकन भएको हो। गीतको भिडियोमा सिनेमाका नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाको नृत्य हेर्न सकिन्छ। उनीहरुसँगै यो गीतमा ५० बढी कोरसलाई समेत फिचरिङ गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए।
५९ वर्ष अगाडि सिनेमा ‘माइतीघर’मा समावेश ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीत आज पनि दर्शकहरुको मुखमा झुन्डिएको छ। सोही गीतलाई रोहितले आफ्नो सिनेमा ‘माइतीघर’मा समावेश गरेका हुन्। यो गीतले पनि दर्शकको माया पाउने विश्वास गरिएको छ।
गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द र जयदेवको संगीत छ। गीतको भिडियोलाई कमल राइले कोरियोग्राफी गरेका हुन्। सिनेमा ‘माइतीघर’लाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ। यो सिनेमालाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नराखिएको निर्माणपक्षको भनाई छ।
सिनेमा ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरिरहेका छन्। सिनेमामा तामाङ संस्कृतिलाई पनि समावेश गरिएको छ, जुन सिनेमाको एक महत्वपूर्ण हिस्सा हो। सुसन प्रजापतिको छायांकन रहेको सिनेमामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ। सिनेमाका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।
यो सिनेमामा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ। यो सिनेमाको छायांकन म्याग्दीको ताकम गाउँ र धारापानी गाउँमा गरिएको छ।

