‘पिताम्बर’पछि निर्देशक कृषा चौलागाइँले गरिन् महंगो रकममा अन्तर्राष्ट्रिय सिनेमा साइन्

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘पिताम्बर’ निर्देशन गरेपछि निर्देशक कृषा चौलागाइको चर्चा चुलिएको छ। कृषाले यो सिनेमामा आफूलाई आँटिलो निर्देशकको रूपमा पुष्टि गरिन्। मल्टिस्टारर कलाकार लिएर एक्सन जनराको सिनेमा सफलतापूर्वक निर्देशन गरेपछि कृषाको चर्चा चुलियो। अहिले कृषालाई घर बाहिरका सिनेमाबाट पनि निरन्तर अफर आइरहेको छ।

यसैबिच, एक साता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाँइले नयाँ सिनेमा साइन गरेकी छिन्। उनले नेपाल, भारत र फिलिपिन्सका कलाकारहरूले एकसाथ काम गर्न लागेको एक अनटाइटल प्रोजेक्ट साइन गरेकी छिन्।यो सिनेमालाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ। सिनेमामा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ। जापानमा रहेर सिनेमा वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो सिनेमालाई निर्माण गर्नेछ।

यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँबीच कागजी सम्झौता भएको हो। सिनेमाको छायांकन भदौबाट सुरु हुनेछ। सिनेमालाई नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भएको छ। सिनेमाको नाम, कलाकारहरूको बारेमा छिट्टै जानकारी दिने निर्माणपक्षले बताएको छ।

यो सिनेमाका लागि निर्देशक कृषा चौलागाइले महंगो रकम लिएकी छिन्। तर, निर्माणपक्षले कृषाले लिएको रकम भने खुलाएको छैन। कृषाले ‘पिताम्बर’पछि आफू नयाँ प्रोजेक्टमा जोडिएको भन्दै दर्शकको विश्वासलाई टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेकी छिन्। यो सिनेमाको हाल धमाधम स्क्रिप्टमा काम भइरहेको छ।

सम्बन्धित समाचारसबै