सिनेसुत्र, बिराटनगर- सिनेमा ‘जन्ते बाख्रो’ नेपाली समाजको संस्कृति, परम्परा र संस्कारको कथा बोल्ने सिनेमा हो। विवाहमा जन्तीलाई दिइने भोजको परम्परा अहिले सहरमा हराउँदै गएको छ। यही विषयलाई लिएर सिनेमा बनाइएको हो। लेखक प्रदीप भारद्वाजका अनुसार, ‘जन्ते बाख्रो’ दुई प्रकारको हुन्छ, एक बेहुली लिएर फर्किँदै गर्दा बाटोमै जन्तीलाई खुवाइने भोज र अर्को, बेहुली भित्राएपछि घरमा हुने भतेर। सिनेमाको कथा यही संस्कारसँग जोडिएको छ।
हाल विवाह भोज ‘पार्टी प्यालेस’ केन्द्रित भइरहेको बेला यो सिनेमा नयाँ पुस्तालाई पुरानो संस्कारको जानकारी दिन सहयोगी हुने लेखकको विश्वास छ। उनी भन्छन्, “यो पूर्ण मनोरञ्जनात्मक सिनेमा हो, तर यसमा संस्कृति पनि देखिन्छ। सिनेमामा बोकाको पनि विशेष भूमिका छ। पहिलो दृश्यदेखि नै बोकालाई जोडिएको कारण त्यसलाई पोस्टर र प्रचारमा राखिएको हो।
‘जन्ते बाख्रो’ एक रमाइलो कमेडी सिनेमा हो। यसमा सौगात मल्ल, आशिफ शाह, गरिमा पन्त, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम लगायत कलाकारको अभिनय छ।
सिनेमा जेठ २३ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
सन्तोष गौतमले निर्माण गरेको यो सिनेमा मुईन इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो। कथाकार प्रदीप भारद्वाज हुन्। छायांकन हरि हुमागाईं र उत्तम हुमागाईंले गरेका हुन् भने सम्पादन सुनिल शिवभक्तिले गरेका छन्। टिफल्क फिल्म्सले वितरण गर्ने सिनेमा जी टु वान डिजिटलमार्फत डिजिटल प्लेटफर्ममा आउनेछ। ट्रेलर हेर्नुहोस :