सिनेसुत्र, बिराटनगर- साइकोलोजिकल थ्रिलर नेपाली सिनेमा ‘द ब्ल्यू लाइट’ को शुभ मुहूर्त आज काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सम्पन्न भएसँगै औपचारिक रूपमा निर्माण कार्य सुरु भएको छ। उक्त अवसरमा सिनेमाका मुख्य कलाकार र प्राविधिकहरूको उपस्थिति रहेको थियो।
‘द ब्ल्यू लाइट’ को छायाङ्कन जेठ २२ गते बिहीबारबाट सुरु हुने बताइएको छ। काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस सिनेमाको छायाङ्कन तालिका २० दिन तोकिएको छ। बलिराम चौहानले ‘द ब्ल्यू लाइट’ मार्फत निर्देशनमा डेब्यु गर्दैछन्। चौहान हालै चर्चामा रहेको सिनेमा ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक पनि हुन्।
सिनेमाको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ, जसमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छिन्, जसले सिनेमाको रहस्यमय र मनोवैज्ञानिक पृष्ठभूमि झल्काउँछ। सिनेमामा मुख्य भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी रहेका छन्। यस्तै, बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको ‘द ब्ल्यू लाइट’ को सह-निर्माता रमन ग्रे हुन् भने नरेन्द्र मैनालीले छायाङ्कन गर्नेछन्।

